मंगलबार, चैत ११, २०८१

यस्तो छ अन्नपूर्ण पोस्ट दैनिकको लफडा ?

नेपालखोज २०७७ जेठ ३० गते १४:१४

काठमाडौं । ठूलो राष्ट्रिय दैनिकमध्येको अन्नपूर्ण पोस्टको प्रधान सम्पादकमा करिब २२ महिना काम गरेर हरिबहादुर थापाले बिहीबार पदबाट राजिनामा दिएका छन् । जाँदाजाँदै उनले व्यवस्थापनले सहकर्मीलाई समयमा तलब नदिएको, कोरोनाका नाममा तलब घटाउन चाहेको जस्ता आरोप लगाएका छन् । त्यसले उनलाई बजारमा सेलिब्रेटी बनाउँदै लगेको छ, तर गहिराइमा छिरेर हेर्दा अन्नपूर्ण पोस्टभित्रको वास्तविकता फरक पाइएको छ ।

Advertisement

अन्नपूर्णका एक संवाददाताका अनुसार प्रधान सम्पादक थापाको नेतृत्वमा गुटबन्दी मौलाएको थियो । विकास थापा, चन्द्रशेखर अधिकारी, विष्णु सुवेदीलगायतले उनलाई राजनीतिक आस्थाका आधारमा पत्रकारको सूची बनाउँदै कम्युनिस्ट जतिलाई खोजी–खोजी निकाल्ने पहल गर्न उकासेका थिए । त्यसमा उक्सिएर उनी लामै सूची बोकेर व्यवस्थापनसम्म पुगेका थिए तर व्यवस्थापनले त्यसमा सहमति नजनाएपछि सफल भएनन् ।

अन्नपूर्णका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अडान थियो, ‘संकटको बेला कुनै पत्रकारलाई ननिकालौं, बरु लकडाउनभरि तलब कम लिएर वाँकी पछि मिलान गर्ने गरी कम्पनीलाई सजिलो बनाइदिनु प¥यो । लकडाउन खुलेपछि जग्गा बेचेर भए पनि म व्यवस्था मिलाउँछु ।’
त्यही भनाइलाई हरिबहादुर थापाले दुरुपयोग गर्दै ‘तलब कटाउन खोजेको’ भन्दै सस्तो लोकप्रियताका लागि अनलाइन मिडियाहरूमा समाचारबाजी गराएका थिए । अन्नपूर्ण स्रोत भन्छ, ‘चरम गुटबन्दी मौलाएपछि करिब ४ महिनादेखि व्यवस्थापन प्रधान सम्पादक थापाको टिमको राजिमामा कुरिरहेको थियो । राजिनामा पन्छाउँदै गुटबन्दी झन् चरम बढाउँदै लगेपछि बाध्य भएर अध्यक्ष थापाले राजिनामा दिन लगाएका हुन् ।’

कान्तिपुर दैनिकमा दुई वर्षअघि प्रधान सम्पादकबाट सुधीर शर्माले राजिनामा दिएपछि प्रधान सम्पादक बन्ने अपेक्षा राखेका थापालाई पाखा लगाएर नारायण वाग्लेलाई प्रधान सम्पादक बनाई ल्याएको कारण सम्पादक पदबाट राजिनामा दिई अन्नपूर्ण पोस्ट गएका थिए ।
स्रोत भन्छ, ‘अन्नपूर्णमा आर्थिक विषय हरिबहादुर थापाले भनेजस्तो महिनौंदेखि तलब नपाएको होइन ।

लकडाउनमा केही ढिला त भएकै हो । तर, संयोगको कुरा थापाले राजिनामा गरेकै दिन र भोलिपल्ट सबैको वैशाखसम्मको तलब खाता–खातामा पुगेको थियो ।’
प्रधान सम्पादक थापको सीईओ मानस घिमिरेसँग पनि पछिल्ला केही महिनायता सम्बन्ध बिग्रिएको थियो । त्यही कारण थापा र उनका गुटका कसैका कुनै आर्थिक एवं अन्य निर्णय कार्यान्वयन हुन छाडेका थिए । सबैतिरबाट हात बाँधिएपछि उनले केही महिना निकै समस्याग्रत ढंगले नेतृत्व सम्हालेका थिए ।

थापासँगै चन्द्रशेखर अधिकारीले राजिनामा दिएको स्रोतले जनाएको छ । स्रोत भन्छ– गूटबन्दीमा संलग्न करिब एक दर्जन जनाको राजिनामा व्यवस्थापनले कुरिरहेको छ ।

प्रतिक्रिया