बेलहिया नाकाबाट एकैदिन ४ सय ७ जना नेपाल भित्रिए
काठमाडौं । रुपन्देहीको बेलहिया नाका भएर शनिबार ४०७ जना नेपाली नेपाल भित्रिएका छन् । त्यस्तै बेलहिया नाका भएर शनिबारै ४२८ जना भारतीय नागरिक भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जानकारी दिएको छ ।
अघिल्लो दिनको तुलनामा भारत प्रवेश गर्नेको सङ्ख्या भने कमी देखिएको छ । शुक्रबार नेपालबाट एकहजार १२८ जना भारततर्फ प्रवेश गरेका थिए भने ४३१ जना नेपाल आएका थिए ।
बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीका अनुसार नेपाल आएका नेपालीमध्ये अधिकांश आआफ्नो जिल्लामा पुगेर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा बस्ने गरेका छन् भने कतिपयलाई होम क्वारेन्टाइनमा पनि पठाउने गरिएको छ ।
कतिपय जिल्लाका स्थानीय तहहरुले भने आफ्ना नागरिकलाई आफैँले गाडीको व्यवस्था गरेर पनि लैजाने गरेका छन् । आफ्नो जिल्ला जान नपाएकाहरूलाई भैरहवा र आसपासका क्षेत्रमा क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । गोरखापत्र दैनिकमा यो खबर प्रकाशित छ ।
प्रतिक्रिया