बुधबार, चैत ५, २०८१

कोरोनाका कारण मृत्यु भएकीसँगै डायलासिस गराएका व्यक्तिमा पनि कोरोना संक्रमण

नेपालखोज २०७७ जेठ ३२ गते १३:०८

काठमाडौँ । धनगढीमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएकी महिलासँगै डायलासिस गराएका एक पुरुषमा पनि संक्रमण भेटिएको छ।
धनगढी उप–महानगरपालिका ३ का ४३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

Advertisement

शनिबार कैलालीका ११ जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उपमहानगरपालिका ४ महिमा टोलकी ५५ वर्षीय महिलाको डायलासिस गराउने क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

ती महिलासँगै सेती अस्पतालमा डायलासिस गराएका पुरुषमा कोरोना पुष्टि भएको उपमहानगरपालिका ३ का वडाध्यक्ष बलबहादुर ऐरले जानकारी दिए।

घरमै रहेका उनलाई अत्याधिक ज्वरो आएपछि स्वाब संकलन गरिएको थियो। डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले मृतक महिलासँगै डायलासिस गराएका १२ जनाको स्वाब संकलन गरिएको जानकारी दिए। त्यसमध्ये चार जनाको रिपोर्ट आएकोमा एकजनामा संक्रमण पुष्टि भएको छ।

बस चालकमा पनि कोरोना संक्रमण

कोरोना संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका ७ का ४७ वर्षीय पुरुष कञ्चनपुरको गड्डाचौकीबाट यात्रुलाई क्वारेन्टिन पुगाउने बस चालक रहेको खुलेको छ।

उनी धनगढीस्थित नवजीवन अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

अस्पतालका निर्देशक डा। विदुरमणि ढकालले संक्रमित पुरुष बसका चालक र आफैं मालिक रहेको खुलेको बताए।

उनी भारतबाट आएका नेपालीलाई गड्डाचौकीबाट क्वारेन्टिनसम्म पुर्याउन संलग्न थिए।

डाक्टर ढकालले बिरामीमा निमोनिया देखिएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएकोमा कोरोना पुष्टिपछि सेती अस्पताल पठाइएको बताए।

संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

प्रतिक्रिया