दिल्लीमा रेल सेवा बन्द गरेर रेलहरुमै यसरी आइसोलेसन वार्ड बनाइदै
काठमाडौँ । दिल्ली सरकारले रेलहरुलाई कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्डका बनाउने भएको छ ।
सरकारले आनन्द विहार स्टेशनका रेलहरुका डिब्बामा आइसोलेसन वार्ड बनाउने बताएको हो । त्यस स्टेनसका रेलहरु सोमबारदेखि बन्द गरिएको छ ।
मुख्यमन्त्री अरबिन्द केजरिवालले सोमबारबाट उक्त क्षेत्रका रेलहरुलाई आइसोलेसन वार्डका रुपमा प्रयोग गरिने जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतले रेल र रंगशालामा आइसोलेसन वार्ड बनाउन थालेको बताइएको छ ।
यसअघि पनि गत महिना नै भारतीय रेल्वे विभागले २० हजार रेल गाडीलाई मेडिकल सुविधामा परिणत गर्ने काम सुरु गरेको बताएको थियो ।
सोमबार दिइएको समाचारअनुसार भारतको केन्द्र सरकारले करिब ५०० रेलगाडी दिल्ली सरकारलाई दिने निर्णय भएकोले सो उपलब्ध गराउने जनाइएको छ ।
यसबाट दिल्लीका करिब ८ हजार विरामीलाई त्यहाँ राखेर उपचार गर्न सकिने छ । ती रेलका डिब्बाहरुमा आइसोलेसनका शैयाहरु बनाइएको छ र त्यहीँ अस्पतालको बेडमा जस्तै उपचारको सुविधा पनि रहने छ ।
यो निर्णयसँगै त्यहाँ तीन लाख भन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राख्न सकिने रेलवे विभागले एक विज्ञप्तिमा भनेको छ ।
एक अर्बभन्दा बढी जनसंख्या रहेको भारतमा विगत लामो समयदेखि जारी लकडाउन हाल केही खुकुलो भएको छ । भाइरसको फैलावट रोक्न भन्दै सरकारले भारत बन्द गर्ने निर्णय गरेको थियो ।
तर यहाँ कारोना भाइरस संक्रमण भने बढेको त्यहाँका अधिकारीले बताएका छन् । अहिलेसम्म भारतमा यो भाइरसका संक्रमितहरुको संख्या तीन लाख नाघिसकेको छ ।
महामारीबाट ९ हजार जनाभन्दा बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया