शुक्रबार, वैशाख ७, २०८१

स्मारक तोडफोड गर्ने र झण्डा जलाउनेहरुमाथि ट्रम्पको आक्रोश

नेपालखोज २०७७ असार ७ गते १५:०९

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै मत्थर हुँदै गरेको रंगभेदविरोधी आन्दोलनको तीखो आलोचना गरेका छन् । आन्दोलनकारीले शालिकहरु तोडफोड गरेकोमा उनको निशाना थियो ।

कोरोना भाइरसको संक्रमणले मुलुक आहत रहेकै बीच शनिबार ओक्लोहोमामा पहिलो पटक चुनावी र्‍याली गरेका ट्रम्पले कथित वामपन्थी भीडले कन्फेडरेट जनरलहरुको शालिक उखेलेर फ्याँकेको भन्दै आपत्ति जनाए ।

ओक्लोहोमाको टल्सामा आयोजित चुनावी सभामा आफ्ना विपक्षीहरुलाई हुँकार दिँदै ट्रम्पले अमेरिकाको झण्डा जलाउने र जर्ज वाशिंगटनको शालिक तोडफोड गर्नेहरुमाथि कानूनी कार्वाही गरिने चेतावनी दिए ।

उनले भने, ‘यो सबै डेमोक्रेटको काम हो, डेमोक्रेट्सको । तिमी अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्छौं नि । हो म पनि अभिव्यक्ति स्वातन्त्रको पक्षधर हुँ । तर यो घृणित कार्य हो ।’

वामपन्थी भीडले अमेरिकी इतिहास तोडमरोड गर्न खोजेको आरोप लगाउँदै उनले भने, ‘हाम्रा असाध्य राम्रा स्मारकहरुको बदनाम गरिएको, तोडफोड गरिएको छ । आफ्ना नाजायज माग पूरा गराउन हाम्रा विधि र पद्धति भत्काउने काम भइरहेको छ, यो हाम्रा मान्यता अनुरुप भइरहेको छैन ।’

प्रहरी यातनामा अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयड मारिएपछि देशव्यापी भएको विरोध प्रदर्शनप्रति आक्रोश पोख्दै उनले, उनीहरुले अमेरिकी विरासत ध्वस्त गर्दै दमनकारी शासन लागू गर्न चाहेको आरोप लगाए । पुराना स्मारक हटाएर त्यस स्थानमा अरु नयाँ नाम दिन खोज्नेहरुलाई चेतावनी दिँदै उनले भने, ‘यो गलत हो । हामी हाम्रो इतिहास नामेट हुन दिँदैनौं ।’

यसअघि कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै उक्त र्‍याली रोक्न माग गरी मुद्दा समेत दायर भएको थियो । तर उक्त मुद्दामा ओक्लोहोमा अदालतले अनुमति दिएपछि ट्रम्पले सभा गरेका हुन् ।

आगामी नोभेम्बरमा हुने निर्वाचनमार्फत् ह्वाइटहाउसमा दोस्रो कार्यकालका लागि रहन आँखा लगाइरहेका ट्रम्पलाई डेमोक्रेट्सका तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडेनले टक्कर दिइरहेका छन् ।

प्रतिक्रिया