शनिबार, वैशाख १५, २०८१

लकडाउनका कारण नेपालमा जनसंख्या बृद्धि हुने !

नेपालखोज २०७७ असार १० गते १८:५३

काठमाडौं । लकडाउनका कारण ‘सानो परिवार सुखी परिवार’ को लक्ष्य सहित नेपाल सरकारले विगतदेखि सञ्चालन गर्दै आईरहेको परिवार नियोजन सेवा समेत प्रभावित बनेको छ ।

विगतमा परिवार नियोजन सेवाका लागि दैनिक दर्जनौ व्यक्तिहरु आउने शिक्षण परिवार नियोजन शाखा अहिले सुनसान जस्तै बनेको छ ।
बढ्दो जनसंख्या नियन्त्रणको भरपर्दो माध्यमका रुपमा रहेको परिवार नियोजन सेवा नेपाल सरकारले करीव ६ दशक अघि देखि सञ्चालन गरेको देखिन्छ । सरकारले सेवा सञ्चालन गरे पश्चात नेपालमा बाल तथा मातृ मृत्युदर निकै नै घटेको देखिन्छ, भने परिवार नियोजन गर्नेहरुको दिनप्रतिदिने बढ्दै गईरहेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।

त्रिवि शिक्षण अस्पतालको परिवार नियोजन शाखाको तथ्यांक हेर्ने हो भने लकडाउन अघिसम्म मासिक १५ देखि २० जनाले स्थायी र १ सय भन्दा बढीले अस्थायी परिवार नियोजन सेवा लिने गर्दथे । तर लकडाउन शुरुभएदेखि सो सेवा लिनेको संख्या शुन्यमा झरेको छ ।
लकडाउनका अवधिमा परिवार नियोजन सेवालाई निरन्तरता दिईरहेको सो शाखामा परिवार नियोजनको अस्थायी साधन सेवा नगन्य मात्रामा लिएको देखिन्छ ।

त्रिवि शिक्षण अस्पतालको परिवार नियोजन शाखा मार्फत बार्षिक १५ सयभन्दा बढीले स्थायी परिवार नियोजन सेवा लिने गरेका छन् भने करिब पाँच हजारले अस्थायी सेवा लिने गरेको शाखा इन्चार्ज पञ्च राईले बताईन । स्थायी परिवार नियोजनको प्रक्रिया लामो र झन्झटिलो हुने तर अस्थायी परिवार नियोजन सेवा सजिलै उपलब्ध हुने भएकाले कोरोना संक्रमणको त्रासमा पैदल आउन सक्ने सेवाग्राहीहरु पनि सेवाका लागि नआएको इन्चार्ज राईको भनाई छ ।

लकडाउनको समयमा स्थायी परिवार नियोजनको लागि समस्या भएपनि अस्थायी परिवार नियोजनका साधन अपनाउन इन्चार्ज पञ्च राईले दम्पतीहरुलाई आग्रह समेत गरेकी छन् ।

अस्पताल आउन नसकेपनि मेडिकलहरुमा आइयुसिटी, इम्प्लान्ट, पिल्स र कण्डम जस्ता अस्थायी सेवा सहज प्राप्त हुँदा समय परिस्थिति अनुसार यतिबेला अस्थायी साधनको प्रयोग उपयुक्त हुने राईको भनाई छ ।

परिवार नियोजन सेवा बढाउनु पर्नेमा लकडाउनको अवधिमा शुन्यमा झर्नुले जनसंख्या नियन्त्रणमा व्यापक प्रभाव पारेको उनको भनाई छ । त्रिवि शिक्षण अस्पतालका अनुसार लकडाउन कै कारण नेपालमा जन्मदर बृद्धि हुने सम्भवना बढेको देखिन्छ । – सारा न्यौपाने

प्रतिक्रिया