बिहीबार, जेठ २, २०८२

डिएपी मलको छैन अभाव

नेपालखोज २०७७ असार ११ गते ११:३६

विराटनगर । पूर्व क्षेत्रमा किसानलाई वर्षे धानबाली लगाउन प्रारम्भमा चाहिने रासायनिक मल डिएपीको अभाव नरहेको बताइएको छ । प्रदेश नं १ का १४ जिल्ला तथा प्रदेश नं २ का सिरहा र सप्तरीका किसानलाई साल्ट ट्रेडिङ लि र कृषि सामग्री संस्थान कार्यालय विराटनगरले उपलब्ध गराउँदै आएको रासायनिक मलमध्ये साल्ट ट्रेडिङ कार्यालय विराटनगरमा अहिले १९ हजार ८२० बोरा डिएपी मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिए ।

उनका अनुसार किसानले मागे जति डिएपी मल उपलब्ध गराइएको छ । केही दिनभित्र थप एक लाख बोरा डिएपी आउने भएकाले किसानलाई यो मलको अभाव हुँदैन । डिएपी मल किसानले धान रोप्ने समयमा खेत तयार गर्दा हाल्ने मल हो । यसको प्रतिबोरा मूल्य रु दुई हजार १५० निर्धारण गरिएको भए पनि किसानले केही छुट हुने व्यवस्था पनि गरिएको छ ।

यसैगरी किसानलाई आवश्यक पर्ने एसएसपी मल पनि १२ हजार ३०४ बोरा मौज्दात रहेको प्रमुख चौधरीले बताए । रासायनिक मल उपलब्ध गराउने कृषि सामग्री संस्थान विराटनगरमा डिएपी मल १७९ मेट्रिक टन, पोटास १४२ मेट्रिक टन र कृषि चुन तीन दशमलव ६५० मेट्रिक टन मौज्दात रहेको बताइएको छ ।

संस्थानका कर्मचारी नवरत्न सुवेदीले कार्यालयका लागि दुई हजार ५०० मेट्रिक टन डिएपी केही दिनभित्र प्राप्त हुने र थप दुई हजार मेट्रिक टन आउने भएकाले किसानलाई अभाव नहुने जानकारी दिए । कार्यालयले पूर्व क्षेत्रमा मोरङको विराटनगर, इलाम, झापाको बिर्तामोड, धनकुटा, सुनसरीको इटहरी, सप्तरीको राजविराज, सिरहाको लहान र उदयपुरको गाईघाट कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।

यस्तै कृषि सामग्री संस्थान विराटनगरमा मलखाद भण्डारण गर्ने दुई ठूला गोदाम वर्षात्का कारणले पानी प्रवेश गरी नष्ट हुने भएकाले स्तरोन्नति गर्ने काम तीव्र गतिमा भइरहेको छ । धरान –विराटनगरको छ लेनको सडक निर्माण भइरहेको र साविकमा निर्माण भएको गोदाम सडकभन्दा गहिरो पर्न गएकाले चौरमा पानी जम्ने समस्या पनि निर्माण सम्पन्न भएपछि समाधान हुने जनाइएको छ । अहिले दुवै कार्यालयमा युरिया मल छैन । बाली लगाइएको केही समयपछि मात्र किसानले धानबालीमा युरिया मल हाल्ने भएकाले यसको पनि अभाव नहुने बताइएको छ ।

प्रतिक्रिया