शनिबार, जेठ ४, २०८२

दुर्लभ कालीनाग बच्चा कोरल्दै

नेपालखोज २०७७ असार १३ गते १०:५८

काठमाडौं– साधारणतया तराईमा भेटिने कालीनाग पर्वत जिल्लाको कुश्मामा भेटिएको छ । कुश्मा–९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएको छ ।
गाउँमा ठूलो सर्प देखेपछि स्थानीयले सर्प विशेषज्ञलाई खबर गरेका थिए । विशेषज्ञ टोलीले चेकजाँच गर्दा सर्प पोथी कालीनाग (किङ कोब्रा) भएको पुष्टि गरेको थियो । सर्प संरक्षक ऋषि बरालले सर्प बच्चा जन्माउनका लागि यहाँ बसेको तथा यसलाई नचलाई जुन ठाउँमा छ त्यही ठाउँमा संरक्षण गर्नुपर्ने बताए । उनले भने– ‘बच्चा नकोरलुन्जेल यसलाई ताराबार लगाएर यहीँ संरक्षण गरिन्छ अनि मात्रै संरक्षण क्षेत्रमा लगेर छोडिन्छ ।’
तराईमा मात्रै देखिने यो प्रजातिको सर्प कसरी यहाँ आइपुग्यो भन्ने कुरा खोज्नुपर्ने विज्ञहरु बताउँछन् । गाउँमा यस्तो सर्प देखेपछि स्थानीयवासी त्रसित बनेका छन् । यसअघि पनि पर्वतको कुश्मा–१० पिपलटारी र १२ नंं वडा ठूलीपोखरीमा कालीनाग भेटिएको थियो । उक्त नागलाई सर्प संरक्षकले बस्तीभन्दा टाढाको पर्वतकै जङ्गलमा छोडिदिएको थियो ।

के हो कालीनाग ?
नागको राजा मानिने कालीनागलाई ठाउँ अनुसार राजगोमन, किङ कोब्रा तथा नागराज पनि भनिन्छ । यो सर्पको दुर्लभ जातिमा पर्दछ । सायद यो नै संसारमा भएमध्येको सवैभन्दा डरलाग्दो सर्प हो । यसको आकार, रंग, आवाज अनि वासस्थानले यसलाई अद्वितीय बनाउँछ ।
यो पृथ्वीको सवैभन्दा लामो र विषालु सर्प हो । साधारणतया यो १० देखि १५ फिटसम्म लामो हुन्छ । कहिलेकाहिँ त्यो भन्दा लामो पनि भेटिएका उदाहरणहरु छन् । यो सर्प जमिनबाट ६ फिट माथिसम्म उठ्न सक्छ । डरलाग्दो आवाज निकाल्ने क्षमता भएको यो सर्प अरु भन्दा विषालु हुन्छ ।
यो सर्पको मुख्य भोजन अरु प्रजातिका सर्पहरु नै हुन् । यसका अलावा माछा, भित्ती, मुसा, चराचुरुंगी तथा भ्यागुताहरु हुन् । यो सर्प लगभग २० वर्षसम्म बाँच्छ । बस्नका लागि गुँड बनाउँने यो एकमात्र सर्प हो ।

प्रतिक्रिया