शुक्रबार, वैशाख ७, २०८१

सलह किलोको २० रुपैयाँ

नेपालखोज २०७७ असार १३ गते २०:०९

काठमाडौं– सलह नेपालमा प्रवेश गरेपछि किराले पुर्याउन सक्ने क्षति कम गर्न प्रदेश ५ सरकारले विभिन्न उपाय लगाउन थालेको छ । किरा समातेर ल्याउनेलाई प्रतिकिलो २० रुपैयाँ नगद दिने निर्णय प्रदेश सरकारले गरेको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीका अनुसार किरा जम्मा गरेर ल्याउनेलाई स्थानीय वडा कार्यालयले तत्काल नगद उपलब्ध गराउने छ । उनले भने– ‘३ मिलिलिटर मालाथिनमा १ लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा १ लिटर पानी मिसाएर बालीमा छर्किए सलह नष्ट हुन्छ ।’
यो किराले दिउँसो मात्र क्षति पुर्याउँछ, राती बास बस्छ । बास बसेको बेलामा जम्मा गरेर स्थानीय वडामा पुर्याइ प्रोत्साहन रकम लिन मन्त्रालयले अनुरोध गरेको छ ।
त्यस्तै, किसानले राखेको धानको बीउलाई त्रिपाल वा प्लाष्टिकले ढाकेर राख्न मन्त्रालयले अनुरोध गरेको छ । भूमि ब्यवस्था मन्त्री आरती पौडेल भन्छिन्– ‘सरकारले एक्लै केही गर्न सक्दैन, यसमा सवैले सावधानी अपनाउनुपर्छ ।’

प्रतिक्रिया