प्रजातान्त्रिक योद्धा सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन
खोटाङ । प्रजातान्त्रिक योद्धा स्वर्गीय सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । जहानीय राणा शासन र निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका राईको स्मृतिमा सर्वधन राई स्मृति प्रतिष्ठान गठन गरिएको हो ।
प्रदेशसभा सदस्य उषाकला राईको अध्यक्षतामा ११ सदस्यीय ‘सर्वधन राई स्मृति प्रतिष्ठान’ गठन गरिएको जनाइएको छ ।
देश र प्रजातन्त्रका लागि निरन्तर सङ्घर्ष गरेर जीवन समर्पण गर्नुभएका राईको योगदानलाई इतिहासलाई ताजा राख्ने उद्देश्यले प्रतिष्ठान गठन गरिएको अध्यक्ष एवं प्रदेशसभा सदस्य राईले बताए । प्रतिष्ठानको उपाध्यक्षमा केशव राई, सचिवमा जमानसेर राई र कोषाध्यक्षमा रामप्रसाद दङ्गाल रहेकाछन् ।
सदस्यमा पूर्वकानून मन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, पूर्वजिविस सभापति विष्णुकुमार राईलगायत रहेका छन् ।
नेपालको प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनको विभिन्न योद्धाहरुको बारेमा अध्ययन–अनुसन्धान गर्ने एवं पूर्वी नेपालकै बृहत सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लगायतका प्रतिष्ठानको उद्देश्य प्राप्तिका लागि प्रतिष्ठानकै उपाध्यक्ष राईले आफ्नो अंशको ११ रोपनी ७ आनाभन्दा बढी जग्गा प्रतिष्ठानलाई दान गरे ।
प्रतिष्ठानलाई असार ८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको छ ।
प्रतिक्रिया