आन्तरिक चहलपहलले कोरोना जोखिम बढ्यो
काठमाडौं– कोरोनाको जोखिम कम गर्न लामो समयदेखि सरकारले गरेको लकडाउन खुकुलो भएपछि उपत्यकाबाहिरबाट काठमाडौं भित्रनेको संख्या बढ्दो छ ।
नागढुंगाबाट मात्रै दैनिक २ हजारभन्दा बढीको संख्यामा काठमाडौं उपत्यकामा मानिस भित्रँदै छन् । फर्पिङ, बनेपालगायतका नाका हुँदै ३५ सयदेखि ४ हजारको हाराहारीमा मानिस भित्रिने गरेका छन् । यसरी मानिस भित्रिएसँगै भीडभाड बढ्नु सामान्य कुरा हो । तर, के बाहिरबाट आएका मानिसबाटै उपत्यकामा कोरोनाको जोखिम बढेको हो त ?
लकडाउन खुकुलो भएपछि उपत्यकाभित्रको आन्तरिक चहलपहल ह्वात्तै बढेको छ । कार्यालयहरु खुलेसँगै सडकपेटीमा हुने खुद्रा व्यवसाय पहिलेको जस्तै देखिन थालेको छ । त्यहाँ सामाजिक दुरीको त कुरै छाडौं, पैदल यात्रुले पनि बाटो पाउँदैनन् । काठमाडौंको असन, इन्द्रचोकलगायतका ठाउँमा पनि पहिलेजस्तै भीडभाड देखिन्छ । विभिन्न संघसंस्था र पार्टीलगायतका संगठनहरु आन्दोलनको नाममा सडकमा भेला हुन थालेका छन् । यहाँ जोखिम बढ्नुमा आन्तरिक चहलपहल नै मुख्य कारण हुनसक्छ ।
काठमाडौंमा दैनिकजसो ५/६ जनाका दरले संक्रमित भेटिँदै छन् । नाकामा ट्राफिक प्रहरीले चेकजाँच त गर्छ, तर सवैले पास बोकेर आएपछि प्रवेश अनुमति दिनै पर्यो । मानिसहरुले लकडाउन खुला गरिएको होईन सहजताको लागि केही खुकुलो मात्र गरिएको हो भन्ने कुरा नबुझेको ट्राफिक प्रहरी माहाशाखा प्रमुख भीम ढकाल बताउछन् ।
यसरी दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेका बेला उपत्यका भित्रिने विभिन्न नाका खुल्ला गरिनु र उपत्यकाकै आन्तरिक चहलपहलले जोखिम झनै बढ्ने सजिलै अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया