बिहीबार, चैत १५, २०८०

अनाथ बालबालिकालाई ३ लाख भत्ता

नेपालखोज २०७७ असार १५ गते १५:१३

प्युठान । प्युठानको सरुमारानी गाउँपालिकाले संरक्षकविहीन बालबालिकालाई मासिक भत्ता दिने भएको छ । भत्ता दिनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु. ३ लाख बजेट विनियोजन गरेको छ ।

अनाथ बालबालिकालाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यका साथ सो कार्यक्रम पालिकाले अगाडि बढाएको हो । पालिका गत आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ अनाथ बालबालिकालाई मासिक भत्ता दिने गरी कार्यक्रमको कार्यविधि तयार गरेर प्रभावकारी कार्यान्वयनका लागि अगाडि बढेको पालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउछन् ।

भत्ताका लागि पालिकाका ६ वटै वडाका ६५ अनाथ बालबालिका छनोटमा परेका छन् । संरक्षकविहीन बालबालिकाका लागि विनियोजित बजेटबाट पुग्ने गरी भत्ता दिने तयारी भइरहेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण आचार्यले बताए । अबको केही दिनमा अनाथ बालबालिकालाई भत्ता वितरण गरिने उनको भनाइ छ ।

४२ अपाङ्गतालाई मासिक भत्ता

गाउँपालिकाले अपाङ्गता भएका ‘ग’ वर्गका व्यक्तिलाई चालु आर्थिक वर्षको शुरुदेखि नै मासिक भत्ता वितरण गर्दै आएको छ । यस क्षेत्रका नयाँ अपाङ्गता भएका तथा साविक महिला तथा बालबालिका कार्यालयबाट नवीकरण गरेका अपाङ्गता व्यक्तिलाई मासिक रु पाँच सयका दरले वितरण गरिएको हो ।

पालिका क्षेत्रका अन्य अपाङ्गता भएका ‘ग’ वर्गका व्यक्तिको तथ्याङ्क सङ्कलन पनि भइरहेको छ ।

प्रतिक्रिया