नेकपा बैठकमा कुर्सी सारासार
काठमाडौं– कुर्सीसम्बन्धी विवाद हुँदै आएको नेकपाको बैठकमा आज पनि त्यस्तै भयो । मञ्च खाली नै राखेर सचिवालयका सदस्यहरुलाई तल झारियो ।
पहिलो अर्थात् बैठक उद्घाटनको दिन बुधबार अध्यक्षद्वयलाई आरामदायी सोफा राखिएको थियो भने अरु नेतालाई चाहिँ काठको कुर्सी । माधव नेपाल र झलनाथ खनाल अध्यक्षभन्दा केही पछाडि बसेका थिए । सोही दिन नै माधव नेपालले कुर्सी अगाडि सारेर विरोध जनाइसकेका थिए । सचिवायलका ९ जना नेतालाई मञ्चमा राखिएको थियो भने स्थायी कमिटीका सदस्यहरु तल ।
अर्को दिन शुक्रबार प्रधानमन्त्री बैठकमा आएनन् । त्यो दिन आरामदायी सोफा देखिएन । सवैलाई काठकै कुर्सी थिए । शनिबार चाहिँ प्रधानमन्त्री आए, सोफा थिएन, काठकै कुर्सीमा बसे । तर, एकैछिनमा बैठकबाट बाहिरिए ।
मंगलबारको बैठकमा चाहिँ अचम्मै भयो । प्रधानमन्त्रीलगायत सवै नेताहरु तलै बसे । मञ्च खाली भयो । सवैलाई काठकै कुर्सी थियो । केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम एकै लहरमा बसेका थिए । नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल स्थायी कमिटी सदस्यकै लाइनमा देखिए ।
बैठकमा केहीबेर कुर्सी विवाद नै भएको थियो । नेकपाका केन्द्रीय कार्यालयका सचिवहरु ईश्वरी रिजाल तथा श्रीराम ढकालले सुरक्षाकर्मी लगाएर धमाधम मञ्चबाट कुर्सी झारे । अध्यक्षद्वयलाई अगाडि अनि अन्य नेता सवैलाई समान लहरमा कुर्सी राखेको देखेर स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र रघुजी पन्तले आपत्ति जनाए । उनीहरुले अध्यक्षलाई मात्र अगाडि होइन पूर्वप्रधानमन्त्रीहरुलाई पनि अध्यक्षकै लाइनमा राख्नुपर्छ भनेपछि फेरी कुर्सी मिलाइएको थियो ।
यति भइसकेपछि उपाध्यक्ष बामदेव गौतमले बैठक कक्षमा प्रवेश गरे । उपाध्यक्षलाई पनि समान लहरमा राख्नुपर्ने भन्दै नेता आफैंले कुर्सी बोकेर अगाडि बढेपछि अध्यक्षद्वयसहित ५ जना नेतालाई अगाडि राख्ने व्यवस्था मिलाइएको थियो । नेताले नै कुर्सी बोकेर सार्न लागेको देखेपछि सुरक्षाकर्मी ट्वाल्ल परेका थिए ।
प्रतिक्रिया