शुक्रबार, माघ ११, २०८१

सिंहदरबारभित्रै नासुहरुको विरोध

नेपालखोज २०७७ असार १६ गते १४:४०

‘माननीय ज्यू, ना.सु.का आँसु देख्नु भएन ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नायब सुब्बाहरु सिंहदरबारभित्रै विरोधमा उत्रिएका छन् ।

Advertisement

राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा ऐनले आफूहरुलाई अन्याय गरेको भन्दै मंगलबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग राखेका छन् । तर, कुनैपनि साविकको पदबाट अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने माग पनि राखेका छन् ।

राज्य व्यवस्था समितिले नायब सुब्बाको बढुवाको प्रतिशत घटायो । समितिले तयार पारेको प्रस्तावित ऐनको मस्यौदा पनि सार्वजनिक गर्यो । त्यसपछि देशभरका सबै सेवामा कार्यरत नायव सुब्बा विरोधमा उत्रिएका छन् । सुब्बाहरुले कर्मचारीलाई कुनै पनि पदमा प्रतिस्पर्धा गर्न उमेर हद नलाग्ने साविक झैं व्यवस्था गर्न माग गरेको छ । कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेमा अघिल्लो सेवा अवधिसमेत गणना हुनुपर्नेलगायतका माग पनि राखेका छन् ।

प्रस्तावित ऐनमा नायब सुब्बाबाट शाखा अधिकृतमा बढुवाका लागि २० प्रतिशत मात्र कोटा छुट्टाइएको छ । हाल प्रचलनमा रहेको निजामती सेवा ऐन २०४९ मा शाखा अधिकृतमा नायब सुब्बा मध्येबाट ३० प्रतिशतले बढुवा पाउने छन् । ७० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट आउँछन् । नयाँ ऐनले शाखा अधिकृतको पदपूर्तिमा रहेको बढुवाको विद्यमान प्रतिशत घटाएर २० मा झारेसँगै नायब सुब्बामा कार्यरत कर्मचारीको बढुवामा असर पर्नेछ । पदपूर्तिको उक्त प्रावधान अन्यायपूर्ण, योग्यता प्रणालीको बर्खिलाप तथा आपत्तिजनक रहेको नायब सुब्बाहरुको ठहर छ ।

उनीहरुले ‘निजामती सेवामा नायब सुब्बा बचाउ अभियान’ गठन गरी राज्यव्यवस्था समितिका सदस्यहरुलाई एसएमएस पठाउनेदेखि नायब सुब्बा कर्मचारीको हस्ताक्षर संकलन गर्ने अभियान जारी राखेका छन् । परराष्ट्र मन्त्रालयस्थित निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमितिको अगुवाइमा बसेको बैठकले समेत निजामती सेवा विधेयकको विरोध गरेको छ ।

देशभर नायब सुब्बा पदमा झण्डै ३५ हजार कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया