चल्न थाले पठाओ र टुटल, जहाँ भेट्यो त्यहीँ कारबाही– ट्राफिक प्रहरी
काठमाडौं । सार्वजनिक यातायात नचलेपछि सामान्य नागरिकको सास्ती देखेर पठाओ र टुटलको सेवा सुचारु भएको छ । लकडाउन भएसँग यी सेवा बन्द थिए । पठाओ र टुटलका धेरै ग्राहकले सेवा चलाउन आग्रह गरेपछि यो सेवा सुरु भएको जनाइएको छ ।
टुटलले राइडरसँग कमिसन नलिने, राइडरले मास्क, पञ्जा, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाएर सेवा सुरु गरेको बताएको छ ।
पठाओले संक्रमणबाट जोगिने उपायहरु अनिवार्य रुपमा गरेर अस्पताल पुग्नुपर्नेहरुलाई सेवा दिन लागिएको बतायो । जम्मा ११२ जना राइडरलाई मात्रै राइडिङ सेवा दिन अनुमति दिएको तथा अस्पताल जानेहरुले मात्रै यो सेवा लिन पनि अनुरोध गरेको छ ।
उता ट्राफिक प्रहरी चाहिँ यो नियमविपरित भएकोले जहाँ भेटे पनि कारवाही गर्छौ भन्न थालेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक बामदेव गौतम भन्छन्– ‘मोटरसाइकलमा परिवारका सदस्यबाहेक अन्यले चढ्न नपाउने नियम छ । व्यवसायिक उद्देश्यले अपरिचितलाई ओसार्ने कामबाट संक्रमण झनै फैलने भएकाले सबैतिर यी सेवा दिइरहेकालाई जहाँ भेट्यो त्यहीँ रोकेर कारबाही गर्छौ ।’
प्रतिक्रिया