कोरोना भयावह बन्दै, सरकार कमिसनको चक्करमा
काठमाडौँ । नेपालमा कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेको आज १ सय २ दिन पुगेको छ । यो अवधिमा संक्रमण त रोकिएको छैन नै लकडाउनका कारण अस्तव्यस्त बनेको परिस्थितिलाई प्रभावकारी रुपमा सम्वोधनसमेत गर्न नसक्दा सरकारको आलोचना पनि त्यत्तिकै भइरहेको छ ।
युवा, विद्यार्थी तथा सामाजिक अगुवाले संक्रमणको त्रास र लकडाउनमै पनि विरोधस्वरुप शान्तिपूर्ण प्रदर्शन समेत गर्दै आएका छन् । सरकारले प्रयास गरेको भए पनि काम चाहिँ राम्रै भयो है भन्ने ठाउँ छैन, महामारीका बेलामा पनि स्वास्थ्य सामाग्री खरिदमा अनियमितता हुँदा सरकार पारदर्शी हुन नसकेको काठमाडौं निवासी दिपक सापकोटाले बताए ।
सरकारले महामारी नियन्त्रण र व्यवस्थापनमा पहल गरिरहेको भएपनि क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा सरकार चुकेको कतिपयको बुझाइ छ । कोरोना भित्रिएको लामो समय बितिसक्दासमेत समयको सदुपयोग नगरिएको र दीर्घकालीन योजना नबनाउँदा लकडाउनको औचित्य नै गुमेको जनस्वास्थ्यविद् समीरमणी दिक्षितले बताए ।
संक्रमण फैलन नदिन लकडाउन जारी छ । कतिपय स्थानमा कोरानाको लक्षण देखा परेकालाई जाँच नै नगरी घर पठाइएको छ । सरकार स्वाब परीक्षणको दायरा बढाउने भन्छ तर क्वारेन्टाइनमै बसेकाको समेत समयमा परीक्षण भइरहेको छैन ।
वैदेशिक रोजगारमा रही समस्यामा परेकाको उद्धार गरिरहेको सरकारले बताएको छ । तर, हालसम्म पनि आफै टिकट काटेका र कम्पनीले काटेर पठाएकाहरुलाई मात्रै ल्याइरहेको छ । टिकटको जोहो गर्नै नसक्नेहरु भने उतै रोकिएका छन् ।
लकडाउनको एक सय २ दिन बितिसकेको छ । सरकार अझैपनि संक्रमण रोकथाम र परिस्थिति व्यवस्थापनकै अलमलमा देखिएको छ । नीजि विद्यालय, होटल व्यवसायी, यातायात व्यवसायीलगायतले आफूहरुको समस्या समाधानका लागि सरकारलाई कुरिरहेका छन् ।
अझै पनि कोरोना महामारीले अन्य देशमा जस्तो मृत्युदर नबढेको र समुदायमा पनि भयावह स्थिति भइ नसकेको हुँदा प्रभावकारी कदम चाले महामारी नियन्त्रण गर्न सम्भव छ ।
प्रतिक्रिया