बिहीबार, जेठ ९, २०८२

ओली प्रचण्ड बीच आज पनि सहमति जुटेन, भोली निर्णायक छलफल हुने अनुमान

नेपालखोज २०७७ असार २१ गते १८:४८

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि सहमति जुट्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो भएको छलफलमा कुनै सहमति जुट्न नसकेपछि छलफल विना निष्कर्ष टुंगिएको छ ।
भोलीको स्थायी कमिटि बैठक अघि फेरी दुबैजना छलफलका लागि बस्ने गरी आजको छलफल टुंगिएको स्थायी कमिटि सदस्य जनार्दन शर्माले जानकारी दिए ।

दुवै नेताबीच विवादित विषयमा छलफल भएको तर कुनै निर्णय भने ननिस्किएको उनले बताए । दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावनाबारे छलफल गर्न सहमति भएको बताइएको छ ।

छलफलमा दुवैबीच राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भइरहेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल भएको थियो । पार्टी भित्रको मतभेदमा राष्ट्रपतिलाई मुछ्न नहुनेबारे अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको थियो ।

त्यस्तै, सडकमा भइरहेका गतिविधिले पार्टी एकता कमजोर बनाउने भन्दै त्यस्ता गतिविधि रोक्ने विषयमा दुवैबीच छलफल भएको बुझिएको छ ।

छलफलमा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, वर्षमान पुन, शंकर पोख्रेल, जनार्दशन शर्मा सहभागी थिए । भोलीको स्थायी कमिटि बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ ।

प्रतिक्रिया