शुक्रबार, चैत १६, २०८०

कम्यूनिष्टले समस्या जन्माउँछन्, समाधान खोज्दैनन् – रामचन्द्र पाैडेल

नेपालखोज २०७७ असार २२ गते १०:५८

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालवीच आइतबार भएको छलफलबाट कुनै निष्कर्ष नआएपछि सोमबार फेरि भेट्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा कुनै सहमति जुट्न सकेन ।

नेकपा भित्रको विवाद अन्त्यका लागि पटक–पटक बैठक बसेपनि उल्लेख्य सहमति हुन भने सकेको छैन । छलफलमा पूर्व एमालेका ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र पूर्व माओवादीका वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए । दुवै नेतावीच विवादित विषयमा छलफल भएपनि निष्कर्ष भने केही आएन ।

मन्त्रीमण्डलका सदस्यसँग प्रधानमन्त्रीले राष्ट्रपतिलाई महाभियोग लगाउने षडयन्त्रको प्रमाण आफूसँग रहेको बताएका छन् । साथै पार्टीभित्रको मतभेदमा राष्ट्रपतिलाई मुछ्न नहुने भन्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको नेकपाका एक नेताले बताए ।
पछिल्लो समय नेकपामा आएको विवादको चरम आलोचना भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन नसक्ने बताएका छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बागमती प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा पौडेलले कम्युनिष्टहरु मुलुकका समस्या समाधान गर्ने बाटोमा प्रवेश गर्न नसकेको बताउँदै अहिले कम्युनिष्टहरुले पाएको झण्डै दुइतिहाइको जनमत मुलुकका लागि नै दुर्भाग्यपूर्ण हुनेमा आशंका व्यक्त गरे ।

पौडेलले दुईतिहाई नजिकको बहुमत मुलुकको समस्या समाधान गर्नका लागि सहयोगी हुनुपर्नेमा दुईतिहाई मत नै समस्या बन्ने हो कि भन्ने आम नागरिकमा शंका उत्पन्न हुन थालेको बताए । उनले मुलुकमा संकट परेका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु नै कम्युनिष्टहरुको बैज्ञानिक समाजवाद हो भनी प्रश्न समेत गरे ।

पौडेलले सरकारले राज्यका सवै दायित्व व्यापारीलाई सुम्पेको र कम्युनिष्टहरुले जनतालाई दबाएर बन्द संस्कृति सिर्जना गरेकाले समस्या देखिएको बताए ।

प्रतिक्रिया