बिहीबार, वैशाख १३, २०८१

फेरि सुरु भयो अनलाइन कक्षा

नेपालखोज २०७७ असार २२ गते १२:२९

काठमाडौं । ३१ लाख विद्यार्थी पढ्ने निजी विद्यालयका लागि शिक्षा मन्त्रालयले कुनै राहत प्याकेज नल्याउनु दुःखद रहेको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा बताउँछन् । सरकारसँग भएको वार्ता अहिले सकरात्मक भएकाले आफूहरुले गर्ने भनेको आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । उनीहरुले अनलाइन पढाइ फेरि शुरु गर्ने निर्णय पनि गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँग आइतबार भएको छलफलमा विद्यालयको माग पुरा हुने संकेत देखिएकाले आन्दोलन स्थगित गरिएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टिकाराम पुरीले बताएका छन् ।
लकडाउन अवधिको शुल्क विद्यालयलाई बुझाउनुपर्ने निजी तथा संस्थागत विद्यालयको माग छ । सरकारले आधिकारिक रुपमा असारबाट अनलाइन कक्षा सुरु गरे पनि उनीहरुले वैशाखदेखिकै शुल्क लिन पाउनुपर्ने माग गरिरहेका छन् ।

कोभिड–१९ कोरोना महामारीको बीचमा विद्यार्थी भर्ना गर्न पाउनुपर्ने उनीहरूको माग छ । सरकारले बैंक ब्याज र विद्यालय भवनको भाडा मिनाहालगायतमा राहत प्याकेज ल्याउनुपर्ने पुरीको भनाइ छ ।

अनलाइन, रेडियो र केवल टिभीमार्फत् भइरहेको कक्षा असार २२ गतेदेखि अनिश्चित कालका लागि रोक्ने घोषणा प्याब्सन र एनप्याब्सनले गरेका थिए । मन्त्रालय, शिक्षक महासंघ, अभिभावक संघ र निजी विद्यालयमा कार्यरत शिक्षकहरूसँगको संयुक्त छलफलपछि प्याब्सनले पढाइ अवरुद्ध नगर्ने निर्णय गरेको पुरी बताउछन् । वार्ताबाट सकारात्मक नतिजा नआए पुनः आन्दोलन गर्ने अध्यक्ष सापकोटाले चेतावनीसमेत दिए ।

प्रतिक्रिया