महाधिवेशन परिमार्जित कार्यतालिका माथि छलफल गर्न काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दैछ ।
ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको परिमार्जित कार्यतालिकामाथि थप छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कोरोना भाइरस महामारीका कारण कांग्रेसले केन्द्रीय महाधिवेशनको मिति यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका भने परिमार्जन गर्ने तयारी गरेको हो ।
आजको बैठकमा सत्तारुढ दलभित्रको आन्तरिक द्वन्द्वले राजनीतिमा पार्ने प्रभाव, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयास, सरकारका पछिल्ला गतिविधी संसद अघिवेशन अन्त्य लगायत बिषयमा पनि छलफल गर्ने कार्यतालिका छ ।
यसैबीच सत्तारुढ दल नेकपामा बढ्दो आन्तरिक विवादका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीसंग सम्बन्ध सुधारेर जाने मनसाय देखाएपछि कांग्रेसमा आन्तरिक छलफल बढेको छ ।
नेकपा मिलेर जानसक्ने सम्भावना बढेको भन्दै नेताहरुले हिजोको केन्द्रीय कार्यसमिति बैठक अघिपनि आन्तरिक छलफल गरेका थिए ।
प्रतिक्रिया