किस्ता तिर्न नसक्ने भन्दै पोखरामा १ सय ५ वटा बसको चाबी बैंकलाई बुझाइयो
पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत चल्ने अधिकांश सार्वजनिक गाडीका धनीले लकडाउनका कारण किस्ता तिर्न नसकेको भन्दै बैंकलाई गाडीको चाबी बुझाएका छन् ।
उनीहरुले सरकारले लकडाउनको नाममा सार्वजनिक सवारी साधन चल्न नदिएको र बैंकले पनि पटक–पटक किस्ता तिर्न ताकेता गरेपछि आफूहरुले गाडीको चाबी नै बैंकलाई बुझाउन बाध्य भएको बताएका छन ।
सोमबार बैंकिङ कारोबारबाट निकालिएका पृथ्वी राजमार्गमा चल्ने १ सय ५ वटा सवारी साधनका धनीले लकडाउनको समयमा किस्ता तिर्न नसक्ने बताउँदै बैंकलाई गाडीको चाबी नै बुझाएका हुन् ।
विगत ३ महिनादेखि जारी भएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नपाएको र आम्दानी नभएका कारण बैंकको ब्याज तथा किस्ता तिर्न नसकेको उनीहरुको दुखेसो छ ।
सरकारले समेत सार्वजनिक सवारी धनी तथा चालकलाई बेवास्ता गरेको र राहतका प्याकेज नल्याएको उनीहरुको आरोप छ । यसैबीच बैंकले पनि दिनहुँ जसो ब्याज तथा किस्ताको लागि ताकेता गरेको उनीहरुको गुनासो छ ।
गरिमा बिकास बैंक, मुक्तिनाथ बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंकलाई सोमबार गाडी धनीहरुले बैंकमै गएर चाबी बुझाएका हुन । उनीहरुले समय थप गरिदिनुपर्ने तथा किस्तामा सहजिकरण गरिदिनुपर्ने माग राखेका थिए ।
यातायात ब्यवसायीहरुलाई सरकारले बेवास्ता गरेका कारण ब्यवसायीहरु मारमा परेका पृथ्वी राजमार्ग बस ब्यवसायी कमिटीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनु भयो । न्यूनतम ६ महिना बैंकले सहज भूमिका निर्वाह गरिदिन उहाँको आग्रह छ ।
चैतको किस्ता असोजमा तिर्ने ब्यवस्था गरिदिन पनि उहाँले बैंक तथा सरकारलाई माग गर्नु भएको छ । तर, बैंकले भने यस बिषयमा किस्ता तथा ब्याज समयमा नै बुझाउनुपर्ने बताएका छन् । त्यसोत, हाल लकडाउनको समयमा त्यति ताकेता नगरेको पनि बैंकको दाबी छ ।
किस्ता तिर्न ढिलाई गर्न नहुने र समयमा नै ब्याज बुझाउनुपर्ने मुक्तिनाथ बिकास बैंक, पोखरा शाखाका शाखा म्यानेजर बाबुराम ढकालले बताउनु भयो । त्यस्तै, उहाँले राष्ट्र बैंकको निर्देशन तथा नियम अनुसार आफूहरु चल्नुपर्ने बताउनुभयो । news24बाट
प्रतिक्रिया