बिहीबार, वैशाख ६, २०८१

लकडाउन अनि महिला टेम्पो चालक

नेपालखोज २०७७ असार २३ गते ७:४२

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण नेपालमा मात्रै नभइ विश्वका धेरै नागरिकको रोजीरोटी गुमेको छ । नेपालमा करिब ४ महिनादेखि जारी रहेको लकडाउनका कारण यातायात ठप्प हुँदा राजधानीमा टेम्पो चलाएर जिविकोपार्जन गर्ने महिलाहरु अझ प्रभावित बनेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार नेपालमा करिब ६ सय बढी महिला टेम्पो व्यवसायमा आवद्ध छन् । लकडाउनले यतिबेला उनीहरुको रोजगारी के हुने भन्नेसमेत टुङ्गो छैन । टेम्पो चलाउने बाटो रोजेका उनीहरु अप्ठेरो काम महिलाले गर्न सक्दैनन् भन्नेहरुका लागी उदाहरणीय बनेका छन् । तर, नेपालमा जारी लकडाउनले रोजीरोटी गुमेपछि अहिले उनीहरु पेशाबाटै पलायन हुने अवस्थामा पुगेका छन् ।

काभ्रेपलान्चोक स्थायी घर भई राजधानीमा विगत २० वर्षदेखी टेम्पो चलाउँदै आएकी इन्द्र श्रेष्ठले आफ्ना धेरै साथीहरुलाई लामो समयको लकडाउनका कारण खान बस्नै समस्या भएपछि अन्य कामको खोजीमा रहेको र अधिकांश भवन निर्माणको काममा लागेको बताइन् ।
त्यस्तै, हेटौडा स्थायी घर भई हाल काठमाडौँ बस्ने सरस्वती मोक्तान आफ्ना श्रीमानसँग टेम्पो चलाउन सिकेर विगत ६ वर्षदेखि टेम्पो चलाउँदै आएकी थिइन् । २ सन्तानकी आमा सरस्वतीको परिवारले यसैबाट जिविकोपार्जन गर्दै आएकोमा हाल लकडाउनले खान बस्न समस्या भएको सुनाइन् ।

उनले अन्य काम गर्ने सीप नभएको भन्दै गाडी चलाएर खाने विकल्प नभएको बताइन् । कोरोना संक्रमण बढिरहेका बेला सार्वजनिक यातायात खुल्ने समय पनि अनिश्चित छ । तर, करिब ४ महिना लामो लकडाउनका कारण टेम्पो पनि चलाउन सक्ने स्थितिमा नहुँने हुँदा सार्वजनिक यातायात खुलेपनि आफुहरुले रोजगारी पाउनेमा आंशका लागेको टेम्पो चालक इन्द्र श्रेष्ठले बताइन् ।

सरकारले सीपमुलक तालिमको व्यवस्था गरे सहज हुने उनको आशा छ । कोरोना भाइरस र यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनले धेरैको रोजीरोटी खोसिएको छ भने कतिपय रोजगारीबाट पलायन भइरहेका छन् । तर, सरकार भने यस्तो विपदको बेलामा पनि सत्ता र शक्तिको खेलमा लागिरहँदा आम नागरिक प्रभावित बनेका छन् । महामारीका बेला यसको नियन्त्रण र समस्यामा परेका नागरिकको समस्या समाधानमा लाग्नुपर्ने सरकारको उल्टो गति हुँदा नागरिकले सास्ती खेपिरहेका छन् भने कोरोना संक्रमण दर पनि दिनप्रतिदिन बढ्दो क्रममा छ ।

प्रतिक्रिया