‘बोक्सी’को आरोप महिलालाई गोबर खुवाई कुटपिट गर्ने चार जनालाई तीन वर्ष कैद
काठमाडौं । बोक्सीको आरोपमा एक महिलालाई गोबर खुवाई कुटपिट गर्ने धादिङका चार जनालाई उच्च अदालत, पाटनले जनही ३ वर्ष कैद गरी पीडितलाई आरोपित प्रत्येकबाट एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
न्यायाधीशहरु टेकनारायण कुँवर र वासुदेव आचार्यको संयुक्त इजलासले आरोपित चार जनालाई जनही तीन वर्ष कैद गरी एक लाख रुपियाँका दरले पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो । यसअघि धादिङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रकाश ढुंगानाको इजलासले आरोपित सबैलाई सफाइ दिएको थियो ।
धादिङ जिल्ला सिद्धलेक गाउँपालिका–४ की सेतीमाया लायो मगरलाई २०७५ साल कात्तिक २८ गते चार जना स्थानीयबासी मिलेर बोक्सीको आरोपमा गालामा झापड हानी मुखमा गोबर कोचिदिएको आरोप लागेको थियो ।
ती महिला बस्ने गाउँका धनबहादुर थापा मगर, खोलबहादुर थापा मगर, यमबहादुर थापा मगर र हर्कबहादुर थापा मगरले त्यस बेला ती महिलालाई अपमानजनक र अमानवीय व्यवहार गरेका कारण कानुनबमोजिम सजाय गर्न माग गरी धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सो अदालतले दाबी नपुग्ने उल्लेख गर्दै उनीहरुलाई सफाइ दिएको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
प्रतिक्रिया