शुक्रबार, वैशाख ७, २०८१

कन्सोर्टियम नेपालले बुझायो संयुक्त राष्ट्रमा प्रतिवेदन

नेपालखोज २०७७ असार २४ गते १५:१८

काठमाडौ । संयुक्त राष्ट्र संघमा आवद्ध सदस्य राष्ट्रहरुले प्रत्येक पाँच वर्षको अन्तरालमा आफ्नो देशमा मानव अधिकारको अवस्था बारे जानकारी गराउनु गर्दैछन् ।
यही सन्दर्भमा बाल सहभागिताको क्षेत्रमा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल) को सहजीकरणमा बालबालिकाको नेतृत्वमा तयार भएको विश्वव्यापी आवधिक समीक्षा (युपिआर) तेस्रो चक्र प्रतिवेदन तयार गरी संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयुक्तको समितिमा (OHCHR) मा अनलाइनमार्फत बुझाइएको छ ।
भर्चुअल कार्यशाला आयोजना गरी राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, सरोकारवाला सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरु, बालअधिकारकर्मीहरु तथा बालबालिकाका प्रतिनिधि समेतको उपस्थितिमा सो प्रतिवेदन बुझाइएको हो ।
संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयुक्तको समितिमा बुझाइएको सो प्रतिवेदन देशभरीबाट स्थानीय र प्रदेश तहहरुमा बालबालिकाको सुझाव संकलन गरी तयार गरिएका थियो ।
नेपाल अहिले तेस्रो चक्रमा रहेको छ । दोस्रो चक्रका क्रममा सन् २०१५ मा प्राप्त भएका सुझावहरुको कार्यान्वयनको अवस्था समेत तेस्रो चक्रमा मुल्याङ्कन गरी यो प्रतिवेदनमा समावेश गर्नुपर्ने दायित्व नेपाल सरकारको रहेको छ । नेपाल सरकार, राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजको तर्फबाट यस्ता प्रतिवेदनहरु तयार गरिन्छ ।
देशका विभिन्न स्थानीय तहहरुबाट सुझाव संकलन गरी सातै प्रदेशमा आयोजना गरिएका बालबालिकाहरुको परामर्शबाट प्राप्त सुझावहरुलाई समेटी राष्ट्रिय कार्यशालामा बालबालिकाहरुका प्रतिनिधीहरुमाझ विस्तृत छलफल गरी प्रतिवेदन तयार गरिएको हो । राष्ट्रिय कार्यशालामा ७ वटै प्रदेशका बालबालिका, संवैधानिक निकायहरु, नेपाल सरकारका प्रतिनिधी, बालअधिकार संस्थाहरु लगायतको सहभागिता रहेको थियो ।
“नेपालको इतिहासमा पहिलो पटक युपिआर प्रतिवेदन बालबालिकाकै नेतृत्वमा तयारी गर्ने काम कन्सोर्टियम नेपालको संयोजकत्वमा भएको सो संस्थाले जनाएको छ । नेपालका लािग यो प्रतिवेदन बालअधिकारको अभियानमा एउटा महत्वपुर्ण इतिहास रहेको छ । यसले नेपालका बालबालिकाहरु पनि आफ्ना आवाज अन्तर्राष्टिय स्तरमा उठाउन सक्षम छन् भन्ने प्रमाणित भएको कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले बताए ।

प्रतिक्रिया