शुक्रबार, वैशाख ७, २०८१

ट्याक्सी चालक भन्छन्– आत्महत्या गर्ने परिस्थिति आयो

नेपालखोज २०७७ असार २४ गते १७:०२

काठमाडौं । लामो समयको लकडाउनको कारणले यातायात मजदुरको दैनिकी निकै कष्टकर हुँदै गएको भन्दै ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग व्यवसायीहरुले राखेका छन् ।
लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बन्दै गएको छ । ऋण तिर्न नसकेर आत्महत्या जस्तो दर्दनाक परिस्थिति सिर्जना भएको व्यवसायीले दुखेसो पोखे ।
लकडाउनले निम्त्याएको व्यवसायीका विभिन्न समस्यामा बुधबार विकास तथा प्रविधि समिति र सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवाला मजदुर संगठन र व्यवसायी महासंघका पदाधिकारीसँग छलफल गरिएको हो । कोरोनाका कारण लकडाउन अवधिमा भएको सार्वजनिक यातायातमाथि आएको संकट तथा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
आम नागरिकको जनजीवनमा महत्वपूर्ण योगदान रहेको सार्वजनिक यातायात लकडाउनको कारणले बन्द छ । लामो समयको बन्दले व्यवसायीमा पर्न गएको संकटलाई मध्यनजर गर्दै कोभिड–१९ क्राइसिस मेनेजमेन्ट कमिटी(सिएसी) र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समितिको आगामी बैठकले व्यवस्थित गरी सञ्चालन गर्नुपर्ने जोड दिएको छ ।
विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड– १९ क्राइसिस मेनेजमेन्ट कमिटिले तयार पारेको मापदण्डहरु पुरा गरी सरकारले लकडाउनकै अवधिमा पनि केही व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेको छ । अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान गर्न, सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन तथा नेपाल सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया