आइतबार, असार १५, २०८२

गण्डकी प्रदेशमा बाढीपहिरोको क्षति, पाँच दिनमा ५३ जनाको ज्यान गयो

नेपालखोज २०७७ असार ३१ गते ६:५६

काठमाडाैं । एकसाता नपुग्दै गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढिपहिरोले ५३ जनाको ज्यान लिएको छ भने अझै ६ जना बेपत्ता छन् । पछिल्लोपटक स्याङजामा मंगलबार बिहानको पहिरोले तीनजनाको ज्यान लिएको छ भने एकजना हराएका छन् । पाँचदिन अवधिमा प्रदेशले ठूलो मानवीय क्षति भोग्नु परेको हो ।

मंगलबार बिहान साढे ९ बजेतिर खसेको पहिरोले स्याङजामा बाढीको क्षति अनुगमन गर्न हिडेको टोलीलाई बगाएको थियो । स्याङजाको कालिगण्डकी गाउँपालिका–४बिर्घास्थित खहरेमा पहिरो जाँदा पुरिएका उनीहरुमध्ये तीनजनाको मृत्यु भएको र एकजना अझै बेपत्ता रहेको स्याङजाका प्रहरी प्रमुख एसपी बिमलराज कँडेलले बताए । उनका अनुसार बेपत्ता व्यक्तिको खोजी भईरहेको छ ।

कँडेलका अनुसार मृत्यु हुनेमा कालिगण्डकी–४ का ७२ वर्षीय इमानसिंह राना, ५० वर्षीय टीकाबहादुर थापा र ६० वर्षीय जिमानसिंह थापा रहेका छन् । पहिरोमा हराईरहेका ६५ वर्षीय प्रेमचन्द्र पाण्डेको खोजी भईरहेको छ । पहिरोले बगाएका उनीहरुमध्ये रानाको उपचारको क्रममा मृत्यु भएको थियो भने टीकाबहादुर र जिमानसिंहको दिउँसो अबेर मात्र शव फेला परेको उनले बताए । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया