चुनावी मैदानमा नेपाल उद्योग बाणिज्य महासंघ
चन्द्र ढकाल र किशोर प्रधानको प्यानल प्रतिस्पर्धामा
काठमाडौं । आगामी साउन २६ र २७ गने हुन लागेको नेपाल उद्योग बाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभामा चुनावको चहलपहल सुरु भएको छ । गत चैत २६ र २७ गते हुने भनिएको महासंघको वार्षिक साधारणसभा कोरोना महामारीले स्थगित भएको थियो । यो साधारण सभाबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ ।
महासंघको नेतृत्वका लागि हुने चुनावमा २ वटा प्यानल सहभागी भएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल र किशोरकुमार प्रधानले आफ्नो प्यानलसहितको उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकालले आफ्नो सम्पर्क कार्यालय बालुवाटार को परेली ब्यांक्वेटमा र प्रधानले ललितपुरको याक प्यालेसमा राखेको जानकारी दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मंगलबार आफ्नो समूहका वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठलाई अगाडि सारेका छन् भने जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईलाई अघि सारेका छन् ।
कार्यक्रममा ढकालले निजी क्षेत्रको हक तथा अधिकारका लागि सम्वाद र अन्य काम गरेर आफ्नो हक अधिकार खोज्नुपर्ने भन्दै अबको नयाँ नेतृत्वले महासंघलाई नवीन दिशामा लैजानुपर्ने तथा उनको टीमले यी विषयहरुमा काम गर्ने पनि बताए । उनले भने, ‘अप्ठ्यारो अवस्थामा रहेको महासंघलाई एक ढिक्का बनाउन हाम्रो हरसम्भव प्रयास रहनेछ, निरन्तर सम्वाद गरेर हक अधिकार खोज्नुपर्छ, महासंघलाई नयाँ दिशामा लैजान सक्रिय भएर हामी काम गर्नेछौं ।’ उनले देश विकासका लागि अझै पनि औद्योगिक वातावरण तयार गर्नुपर्ने र त्यसका लागि धेरै काम बाँकी रहेकाले त्यो पनि पूरा गर्ने बताए ।
कोरोना महामारीबाट सिर्जना भएका समस्या मात्रै हल गर्ने नभई देशलाई समुन्नत बनाउन पनि काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । ढकालले महासंघ ठूला व्यवसायीको मात्र नभई साना तथा मझौला व्यवसायीको पनि साझा चौतारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । एक गाउँ, एक उत्पादन कार्यक्रमलाई फेरी लागु गरेर उद्यमशीलता विकासका लागि काम गर्ने पनि बताए ।
थोरै आम्दानी भएका उद्योग बाणिज्य संघलाई वार्षिक ५ लाख बराबरको आम्दानी जुटाउन आफ्नो समूहले काम गर्ने बताए ।
जिल्लाका नापतौल, अनुगमन, बैंकिङ तथा राजश्वलगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने संयन्त्र बनाउने विश्वास ढकालले दिलाए । उनले भने, ‘हाम्रो टीम अनुभवले भरिएको छ, व्यवसायीलाई दुःख परेको समयमा हामी सँगै हुन्छौं अनि समस्यालाई सम्वन्धित निकायमा पुर्याएर समाधान पनि खोज्छौं । चुनाव जितेपछि हामी तपाइहरुबाट टाढा हुँदैनौं, बरु नजिकै हुनेछौं, हाम्रो टीमले जे भन्छ, पूरा गर्छ । यो हाम्रो सामुहिक प्रतिवद्धता पनि हो ।’
वरिष्ठ उपाध्यक्ष ढकालले उम्मेदवारी घोषणा गरेपछि अर्को प्यानलका वरिष्ठ उपाध्यक्ष किशोरकुमार प्रधानले पनि आफ्नो प्यानलको घोषणा गरेका थिए । उनको प्यानलमा वस्तुगत उपाध्यक्षतर्फ अन्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको थियो भने एशोसिएट उपाध्यक्षमा सौरभ ज्योतिको नाम घोषणा गरिएको थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, – ‘म अध्यक्ष भएपछि ६ महिनामा हटाउने योजना बनेको छ भन्ने सुनेको छु, यस्ता प्रवृत्तिविरुद्ध लड्न हामी सवै एकजुट हुनु आवश्यक छ । विधान संशोधनमा तारबार राख्नेलाई पनि धन्यवाद दिन चाहन्छु, मलाई हटाउन खोज्ने सवैलाई धन्यवाद ।’ उनले थपे, म यहाँ राजनीति गर्न आएको होइन, महासंघ कसरी चलाउनुपर्छ मलाई राम्रोसँग थाहा छ । आफ्नो कार्यकालको रोडम्याप तयार गरिसकेको बताउँदै त्यो उनले चाँडै सार्वजनिक गर्ने बताए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशी सहभागी थिए ।
प्रतिक्रिया