नेपालमा पहिलाेपटक एनआईसी एशियामा अनलाईनबाटै भौचर भर्ने सुविधा
काठमाडौं । एन आई सी एशिया बैंकले नेपालको बैंकिङ्ग इतिहासमै पहिलोपटक अनलाइनबाटै भौचर भर्ने प्रणालीको सुरुवात गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरूमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले साउन १ गतेबाट उक्त प्रणाली लागु गरेको हो ।
मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको शाखाको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने बैंकले जनाएको छ ।
ग्राहकले www.iserve.nicasiabank.com मा गई नगद जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्ने बैंकले जनाएको छ । भौतिक फारमकै ढाँचाको डिजिटल भौचर अनलाइनमा देखिनेछ । उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएसमार्फत् डिपोजिट कोड पठाईने र डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना भौचर सोझै नगद काउण्टरमार्फत् आफुले नगद जम्मा गर्न चाहेको खातामा नगद जम्मा गर्न सकिनेछ । यसरी नगद जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि नगद बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा नगद रकम जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गर्नेछ । बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिनको निमित्त सहयोग हुनेछ भने उहाँहरुलाई काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।
नगद जम्मा गर्ने सेवाको अलावा बैंकले मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, ABBS सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत यस iServe मार्फत् सेवा दिईरहेको छ र उक्त सेवाहरू iServe मार्फत् लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया