बिहीबार, वैशाख १३, २०८१

‘सरकारले सम्पन्नलाई सित्तैमा, विपन्नलाई डबल भाडा तिरायो’– वैदेशिक राेजगार व्यवसायी

नेपालखोज २०७७ साउन २ गते १४:४३

काठमाडौं । नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतको टोली र वैदेशिक रोजगार व्यवसायी बिच भएको छलफल सम्पन्न भएको छ ।

संयोजक महतको नेतृत्वमा बत्तिसपुतलीमा भएको छलफलमा कोरोनाका कारण वैदेशिक रोजगारीमा परेको प्रभाव न्यूनीकरणमा केन्द्रित रहेर छलफल भएको थियो ।

छलफलका क्रममा व्यवसायी प्रज्ञान न्यौपानले धरौटीको रुपमा रहेको ५० लाख केही समय व्यवसायीलाई नै चलाउन दिने व्यवस्था राज्यले गरिदिए आफ्ना कर्मचारीलाई तलब दिन र घरभाडा तिर्न सक्षम हुने बताए । चीनमा पैसा तिरेर पढ्न जाने सम्पन्नलाई सरकारले सित्तैमा ल्याउने, तर विपन्न वर्ग जो दुई पैसा कमाउन विदेश गएका छन्, उनीहरुलाई ल्याउन चाहिँ दुई गुणा भाडा ? उनले प्रश्न गरे ।

व्यवसायीको उचित सुझावलाई श्रम मन्त्रालयमा राख्ने संयोजक डा. महतले बताए । तपाईहरु व्यवहारीक मात्र नभएर एक जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुनुहोस् । व्यवसाय भन्दा मानवता हेर्न उनले व्यवसायीहरुलाई आग्रह गरे । वैदेशिक रोजगारीबाट फर्केकालाई कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यसको कार्ययोजना ल्याउन उनले व्यवसायीलाई सुझाव दिए ।

प्रतिक्रिया