बुधबार, वैशाख १२, २०८१

काेराेना फैलिएसँगै चीनमा बन्द रहेका सिनेमाघर खुल्न थाले

नेपालखोज २०७७ साउन ५ गते १३:२७

काठमाडौं । चीनमा कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्ने प्रयास अन्तर्गत बन्द रहेका सिनेमाघरहरू फेरि खुला गर्न थालिएकाे छ ।

चिनियाँ चलचित्र प्रशासनले सोमवारदेखि ‘कम जोखिम भएका’ स्थानहरूमा सिनेमाघर खोल्न सकिने बताएको छ ।

चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण यो नयाँ निर्णयको अर्थ देशभरिका लगभग सबै सिनेमाघर खुल्ने अनुमान छ ।

काेराेना बढेसँगै सुरु भएको लकडाउनले चीनकाे सिनेमाघरहरू नराम्ररी प्रभावित भएका र केही स्थायी रूपमा बन्द भइसकेका छन् ।
खुल्ने सिनेमाघरहरूले कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेकोभन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने कडा नियम पालना गर्नु पर्नेछ ।

दर्शकहरूको शरिरको तापक्रम नापिने छ र दर्शक र सिनेमाघरका कर्मचारी सबैले जुनसुकै बेलापनि अनिवार्यरूपमा मास्क लगाउनु पर्नेछ । चलचित्रको टिकट अनलाइन किन्नुपर्ने र फरक समूहका दर्शकहरू कम्तीमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने नियमहरू लगाइएको छ ।

पछिल्लो कोरोना भाइरस संक्रमणको पहिलो केन्द्रविन्दु रहेको चीन चलचित्रको लागि विश्वको दोस्रो ठूलो बजार हो । सन् २०१९ मा त्यहाँ चलचित्रको बजार ९ अर्ब डलरभन्दा बढी रहेको थियो ।

तर यो वर्ष धेरै चिनियाँ र अङ्ग्रेजी चलचित्रहरूको प्रदर्शन रद्द भएकोले त्यो बजार नराम्ररी खस्किने अपेक्षा गरिएको छ । जुलाई महिनाको सुरुमा चीनको सबैभन्दा धेरै सिनेमाघरहरूको स्वामित्व रहेको कम्पनी वान्डा फिल्मले यो वर्षको छ महिना घाटा हुने जनाएको थियो ।

चीनभरि ६ सयभन्दा बढी सिनेमाघर रहेको सो कम्पनीले एक दशमलव छ अर्ब युआन घाटा बेहोर्नु पर्ने अनुमान गरेको जनाएको छ ।  (बीबीसीकाे सहयाेगमा)

प्रतिक्रिया