बिहीबार, चैत १५, २०८०

कोशी ब्यारेजका ४६ ढोका खोलियो, बहाव वर्षकै उच्च

नेपालखोज २०७७ साउन ६ गते ९:५९

सप्तरी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि मंगलबार बिहान ४६ वटा ढोका खोलिएको छ । आज सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च हो ।

आज बिहान ६ बजे पानी मापन गर्दा सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक थियो । यो वर्षकै उच्च मापन हो । यहाँ पानीको बहाव २ लाख क्युसेक प्रतिसेकेन्ड पुगेपछि खतरा सुरु भएको मानिने कोशी ब्यारेज कन्ट्रोल रुमले बतायो ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेकाले बुधबार विहानसम्म सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ ।

यसअघिकै बाढीमा स्थानीय तहले गोबरगाढाका बासिन्दाहरुलाई टापुबाट निकाल्ने प्रयास गरे पनि स्थानीयहरु निस्कन मानेका छैनन् । कोशीमा अत्याधिक बहाव भएसँगै बस्तीका घर घरमा पानी पसेको छ । बहाव ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो ।

प्रतिक्रिया