बिहीबार, चैत १५, २०८०

सरकारको लकडाउन अन्त्य राजविराजमा सुरु

नेपालखोज २०७७ साउन ७ गते १३:५५

काठमाडौँ । सरकारले चार महिनादेखि लगाएको लकडाउन अन्त्य गरेकै दिन आजदेखि सप्तरीको राजविराज नगरपालिकाले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन चार महिना पछि अन्त्य भएकै दिन राजविराज नगरपालिकाले भने समुदायमा कोरोना फैलिएकाले लकडाउन कडा गर्ने निर्णय गरेको हो ।

राजविराज ६ स्थित घरमै कोशीग्यास र खाद्यबिज भण्डारको पसल रहेका ७३ वर्षीय कोरोना संक्रमित व्यापारीको मृत्यु भएपछि ’कन्याक्ट ट्याकिङ र ट्रेसिङ’ गर्दै जाँदाथप २ जनामा कोरोना पुष्टि भएपछि लकडाउन कडा गर्न चौतर्फी दवाव बढेकाले नगरपालिकाले लकडाउन पूर्ण पालनागर्ने, गराउने निर्णय गरेको हो ।

हालसम्म मृतकको परिवारका पाँच सदस्य, पसलमा काम गर्ने एक कामदार, छिमेकी एक दम्पत्ती, मृतकको स्वामित्वको सफटेक कलेजका व्यवस्थापक एक पुरुष, अस्पतालको पोषण गृहमा कार्यरत उनकी श्रीमती, उनीहरुको घरमा काम गर्न जाने अस्पतालकी स्वीपर एक महिला गरी ११ जनामा कोरोना संक्रमण देखा परिसकेको छ । आज क्वारेन्टाइनमा बसेका अन्य १२ जनामा समेत कोरोना देखिएको छ ।

स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले संक्रमितको सम्पर्कमा रहेका झण्डै एक सय जनाको पीसीआर रिपोर्ट आउनबाँकी रहेको बताए । अस्पतालमा कार्यरत नर्स र स्वीपर कोरोना देखिए पछि अस्पतालमा कार्यरत १ सय ९८ जना कर्मचारी चिकित्सकको परीक्षण गर्न लागिएको छ ।

नगरपालिकाले अत्यावश्यक काम बाहेक बाहिर निस्किन प्रतिबन्ध जारी गर्दै नगरभित्रको सरकारी, गैरसकारी कार्यालय, बैंक, बित्तिय संस्था, बजार, पसलबन्द गरी लकडाउनको पूर्ण पालनागर्न बिज्ञप्ति जारी गर्नुका साथै माइकिङ्ग समेत गरेको छ ।

पछिल्ला दिनमा बढदै गएको कोरोना संक्रमण घटेमा र स्वाबको रिपोर्ट सन्तोषजनक आएमा फेरि लकडाउन खुकुलो हुने तर अहिले अर्को सूचनाजारी नहुञ्जेलसम्म लकडाउन कडा हुने नगर प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।

प्रतिक्रिया