बुधबार, वैशाख १२, २०८१

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उब्जिएकाे प्रश्न

नेपालखोज २०७७ साउन ७ गते १४:०९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावको चहलपहल सुरु भएको छ । आगामी साउन २६ र २७ गते हुने ‘५४औं अधिवेशन’मा महासंघको चुनाव हुने कार्यक्रम तय गरिएको छ । कोरोनाको महामारी तथा बाढी पहिरोको कहरमा चुनाव हुने या नहुने भन्ने अन्यौल चाहिँ छँदैछ ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्रप्रकाश ढकाल र किशोर प्रधानले उम्मेद्वारी घोषणा गरेका छन् । ढकालले आफ्नो प्यानलका उम्मेदवार सार्वजनिक गरिसकेका छन् । उनी तामझामका साथ चुनाव प्रचारमा लागिरहेका छन् ।

अर्का उम्मेदवार किशोर प्रधानले भने आफ्नो प्यानलको विषयमा कुनै जानकारी दिएका छैनन् । उनी चुनावको कुनै प्रचारप्रसारमा लागेको पनि देखिएको छैन ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले हुने भनिएको चुनाव अझै अन्यौलमा रहेको सामाजिक सञ्जालमार्फत् बताइरहेका छन् । उनले ट्वीटरमा भनेका छन्,– ‘कोरोना संक्रमणको जोखिम कायमै रहनु र यहीबेला आएको बाढी पहिरोले पछिल्लो पटक तोकिएको मितिमा FNCCI को निर्वाचन गर्ने हाम्रो प्रयासमा चुनौति थपेको छ ।’

को हुन त चन्द्र ढकाल ?
उद्योग वाणिज्य महासंघमा नै रहेर व्यवासायिक वातावरण निर्माण तथा उद्योग प्रवर्धनमा लागेका व्यक्ति हुन् । उनी वि.सं. २०२२ सालमा बागलुङमा जन्मिएका ढकाल ग्लोबल आइएमई बैंक, आइएमई ग्रुप र चन्द्रागिरी हिल्सका अध्यक्ष हुन् भने डिस होम मिडियाका प्रवन्धक पनि हुन् ।

किशोर प्रधान को हुन् ?
किशोर प्रधान जो हाल महासंघको उपाध्यक्ष पदमा रहेका छन् । अघिल्लो चुनावमा शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष भएसँगै उपाध्यक्ष पदमा रहेका प्रधान यस वर्ष के होलान् त भन्ने एक खालको उत्सुकता आम मानिसमा रहेको छ । करिब २८ वर्ष अघि उद्योग संगठन मोरङको महासचिव पद हुँदै नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य बनेका प्रधानले हाल महासंघकै उपाध्यक्ष पदमा छन् ।

प्रतिक्रिया