शुक्रबार, वैशाख ७, २०८१

विदेशमा अलपत्र नेपालीको उद्धार उडान तत्काल स्थगित

नेपालखोज २०७७ साउन ७ गते १८:४०

काठमाडौँ । प्रतिकूल मौसमका कारण विदेशबाट घर फर्किएकालाई सम्बन्धित पालिकामा पठाउन समस्या भएपछि उद्धार उडान केही समयका लागि स्थगित भएको छ ।

बाढी र पहिरोको कारण बाटो अवरुद्ध हुँदा सम्बन्धित जिल्लामा पठाउन समस्या भएको र बाटोमा पनि जोखिम भएकाले केही समयका लागि उद्धार उडान स्थगित गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

सहसचिव लामिछानेले प्रतिकूल मौसमका बेलामा झन जोखिम भएकाले केही समयका लागि स्थगित भएको र मौसममा सुधार आउँदै गएमा र अवरुद्ध सडकहरू सञ्चालनमा आउन थालेपछि फेरि निर्णय गरेर उद्धार उडानहरु गर्ने उनले बताए ।

हिजोसम्म विभिन्न देशबाट ३४ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् । विभिन्न २५ देशबाट ३४ हजार ९२ जना नेपाली स्वदेश फर्किएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । सरकारले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा उद्धार भइरहेको छ ।

प्रतिक्रिया