बिहीबार, वैशाख १३, २०८१

वर्षासँगै गएकाे पहिराेले सात राष्ट्रिय राजमार्गमा असर, चार राजमार्ग ठप्प

नेपालखोज २०७७ साउन ८ गते १७:२२

काठमाडाैं । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १ सयभन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन ।

देशव्यापीरूपमा तीन दिनदेखि लगातार वर्षाले विभिन्न राजमार्गमा कटान र पहिरोको कारणबाट यातायात अवरुद्ध हुनपुगेको हो । पहिरो पन्छाएर थुप्रै सडकखण्ड सञ्चालनमा ल्याइए पनि कतिपय स्थानमा तत्काल शुरु गर्न सकिने अवस्था नरहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । विभागले लगातार प्रयास गरिरहे पनि पुल बगाएका र नदीले सडक नै कटान गरेका स्थानमा वर्षा र नदीको बहाव कम नहुँदासम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ छ । उनले भने, “सम्बन्धित सडक डिभिजन कार्यालयले उपलब्ध उकरणबाट काम गरिहरेका छन् ।”

पृथ्वी राजमार्गको जोगिमारा–मावाखोला खण्ड र नारायणघाट–मुग्लिन सडकको कालीखोला खण्डमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्ने विभागले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक शर्मा, उपमहानिर्देशकलगायतको टोली सडक अनुगमनका लागि बुधबार मौवाखोला पुगेको थियो । उक्त सडकमा रहेको पहिरो खुलाउने काम भइरहेको छ । शुक्रबार साँझसम्म सडक खुलाउने लक्ष्यका साथ काम अघि बढिरहेको जानकारी दिए ।  “कतिपय स्थानमा आंशिकरूपमा मात्रै सञ्चालन गराउने काम भइरहेको छ” उनले भने ।

देशभरका राष्ट्रिय राजमार्गमध्ये सात राजमार्गमा बाढीपहिरोको असर परेको छ । तीमध्ये पनि अरनिको राजमार्ग, बेनी–जोमसोम, साँफेबगर–मार्तडी र बेँसीशहर–चामे सडकमा बढी असार देखिएको विभागले जनाएको छ । यात्रु र सवारीसाधनको चापका हिसाबले पृथ्वी राजमार्ग र अरनिको राजमार्ग अवरुद्ध हुँदा धेरैलाई अप्ठ्यारो परेको छ । एउटै राजमार्गको पनि धेरै ठाउँमा पहिरो देखिएको महानिर्देशक शर्माले बताउनुभयो । अरनिको राजमार्गमा बाह्रबिसेम्म र सीमाबाट भन्सार कार्यालयसम्म खुलिसकेको छ । त्यसको बीचमा झण्डै १७ किमी सडक अवरुद्ध रहेको छ । सोही राजमार्गमा ६० मिटर सडक नै वर्षाले बगाएको छ भने एउटा पुल पनि बगाएको छ । उहाँले भन्नुभयो, “अरनिको राजमार्गमा रहेका अवरोध हटाउने काम भइरहेको छ ।”

अहिले पनि अवरुद्ध रहेका राजमार्गमा अवरोध खुलाउनका लागि सम्बन्धित सडक डिभिजन कार्यालय लागिपरेका छन् । कतिपय स्थानमा पुल नै बगाउँदा पनि सडक अवरुद्ध भएको छ । बेनी–जोमसोम सडक र साफेँबगर–मार्तडी सडकमा पनि पुल बगाएको छ । पुल बगाएका स्थानमा सडक सञ्चालन हुन समय लाग्नसक्ने महानिर्देशक शर्माले बताए ।

बेनी–जोमसोम सडकमा ८/१० ठाउँमा सडक अवरुद्ध रहेको छ । त्यस्तै निर्माणाधीन कान्ति लोकपथमा पनि विभिन्न स्थानमा पहिरोले रोक्ने र खुलाउने काम भइरहेको छ । कणार्ली राजमार्गमा सामान्य पहिरो गइरहे पनि सफा गरिएको छ ।

विभागअन्तर्गत देशभरमा ३३ सडक डिभिजन कार्यालयले वर्षा हुनुभन्दा पहिलेदेखि नै बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा खुलाउन आवश्यक तयारी गरेका थिए । विभागअन्तर्गत विभिन्न स्थानमा रहेका डिभिजनले राष्ट्रिय राजमार्ग खुलाउने गरेका छन् । प्रदेश राजमार्ग र स्थानीय सडक सम्बन्धित निकायले खुलाइरहेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिए । विभागले वर्षा शुरु हुनुपहिले नै १ सय ८० स्थानलाई सम्भावित जोखिमको सडकका रूपमा निर्धारण गरेको थियो । ती स्थानमा पहिले नै उपकरण राखिएको र आवश्यक पर्दा प्रयोग भइरहेको विभागले जनाएको छ ।

विभागले सडक अवरुद्ध हुनासाथ सकेसम्म दुईतर्फ नै खुलाउन प्रयास गर्ने महानिर्देशक शर्माले बताए । तत्काल दुईतर्फ सञ्चालन गर्न नसकिने स्थानमा एकतर्फ पहिरो हटाएर पनि आवगमन खुला गरिन्छ । एकातर्फ वा आशिंकरूपमा सञ्चालनमा रहेका सडक मौसमले साथ दिनासाथ खुलाइने उनको भनाइ छ । उनले भने, “सकिन्छ भने दुईतर्फ र नसकिएका ठाउँमा मात्रै खुलाइन्छ ।”

विगतका वर्षभन्दा पहिले नै वर्षा शुरु भएकाले सडक बढी अवरुद्ध भएको विभागले जनाएको छ । यो वर्ष साउनको शुरुबाट अहिलेसम्म दैनिक वर्षा भइरहेको छ । भदौको १५ गतेसम्म वर्षा हुने भएकाले अझै कति क्षति हुन्छ भन्ने यकिन छैन ।    रासस

प्रतिक्रिया