शुक्रबार, वैशाख ७, २०८१

अमेरिका-चीनबीच तनावः
अमेरिकी वाणिज्य दूतावास बन्द गर्न बेइजिङको निर्देशन

नेपालखोज २०७७ साउन ९ गते ११:०३

काठमाडौं । चीनले दक्षिण-पश्चिमी सहर छेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ । पछिल्ला दिनमा अमेरिका र चीनको सम्बन्ध तनावपूर्ण बन्दै गएकाे छ ।

अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएपछि चीनले प्रत्युत्तरमा यो निर्णय गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयले एउटा वक्तव्यमा आफ्नो निर्देशनलाई ‘अमेरिकाको अनुचित कार्यको प्रतिक्रियाको रूपमा लिइएको उचित र आवश्यक कदम’ भनेको छ ।

“चीन र अमेरिकाबीचको अहिलेको अवस्था चीनले हेर्न चाहेको होइन र यसका लागि अमेरिका सम्पूर्ण रूपले जिम्मेवार छ,” वक्तव्यमा भनिएको छ ।

छेङ्दुको अमेरिकी वाणिज्य दूतावास सन् १९८५ मा स्थापना गरिएको र त्यहाँ हाल २ सयभन्दा बढी कर्मचारी रहेको बताइएको छ । उक्त दूतावास तिब्बतसँग नजिक भएका कारण रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ ।

अमेरिकाले के गरेको थियो ?
अमेरिकाले आफ्नो वाणिज्य दूतावास बन्द गर्न दिएको निर्देशनलाई बेइजिङले  राजनीतिक रूपले उक्साहटपूर्णू कदमको सङ्ज्ञा दिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले ‘बौद्धिक सम्पत्तिको रक्षाका निम्ति’ उक्त कदम चालिएको जनाएको थियो । तर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले त्यसलाई ‘आक्रामक तथा अनुचित’ भनेका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनको व्यापार र कोरोना भाइरस महामारीको विषयलाई लिएर चिनियाँ सरकारसँग पटकपटक मतभेद भएको छ ।  (बीबीसीकाे सहयाेगमा)

प्रतिक्रिया