बिहीबार, चैत १५, २०८०

महासङ्घको निर्वाचन रोकिएकामा असन्तुष्टि

नेपालखोज २०७७ साउन ९ गते १८:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा एवं निर्वाचन स्थगित भएकामा एउटा समूहले असन्तुष्टि जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाललगायतको समूहले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी साधारणसभा स्थगित भएकामा असन्तुष्टि जनाएको हो । कार्यसमितिको बैठकले अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै सो समूहले असन्तुष्टि जनाएको हो ।

महासङ्घको पूर्वअध्यक्षसहितको बिहीबारको बैठकले सरकारले सभा सम्मेलन गर्न पाउने गरी निर्णय गरेको १५ दिनपछि साधारणसभा गर्ने निर्णय गरेको थियो ।

महासङ्घका उपाध्यक्षसमेत रहेका ढकालले साधारणसभा गर्नसक्ने अवस्था नभए कार्यसमितिको बैठक बोलाइ निर्णय गर्ने समय हुँदाहुँदै कार्यसमितिको अधिकारलाई कुल्चिने काम भएकामा गुनासो गरे । उनले महासङ्घमा गलत प्रवृत्ति विकास भएको भन्दै साधारणसभा स्थगित गरेर अर्को मिति तय नगरिँदा कानूनी मात्र नभई नैतिक र सामाजिक जगसमेत कमजोर भएको बताए।

उनले साढे पाँच दशक पुरानो संस्था इतिहासमै कमजोर भएको टिप्पणी गर्दै जटिल परिस्थितिमा महासङ्घलाई सबल, सक्षम नेतृत्व जरुरी रहेको बताए । कोरोनाको महामारीका अवस्थामा महासङ्घका आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसँग सहमति लिनु आवश्यक भएकाले साधारणसभाका लागि सरकारलाई निवेदन दिएको तर जवाफ नआउँदै अनिश्चित कालका लागि धकेल्ने निर्णय हुनु दुःखद् भएको उनको भनाइ छ ।

महासङ्घको परिवर्तित विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यालयको स्वतःअध्यक्ष हुने व्यवस्था छ । सोही कारण वरिष्ठ उपाध्यक्षलगायत उपाध्यक्ष र अन्य सदस्यको निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया