शुक्रबार, वैशाख ७, २०८१

तीन वर्ष भो : के भन्छन् काठमाडौं महानगरपालिकाका महिला जनप्रतिनिधि

नेपालखोज २०७७ साउन १० गते १२:१९

काठमाडौं । करिब दुई दशकपछि २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । निर्वाचनपश्चात् मुलुकभर स्थानीय तहमा ४० प्रतिशत महिला अर्थात् करिब १४ हजार महिलाहरु जननिर्वाचित भए । खासगरी नगरपालिका तथा गाउँपालिकाका उपप्रमुख पदमा अधिकांश महिला नै चुनिएका छन् ।

२०७२ सालमा जारी भएको संविधानले तोकेअनुसार यतिबेला राज्यका हरेक तह र तप्कामा महिला सहभागिता बढेको छ । संविधानले स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेपछि अधिकांश स्थानीय तहको उपप्रमुखमा महिला छन् । काठमाडौं महानगरपालिकामा पनि उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ छन् भने १ जना वडा अध्यक्ष, ५६ जना महिला वडा सदस्य र ५ जना महिला कार्यपालिका सदस्य छन् ।

स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पुरा भईसकेको छ । यस कार्यकालमा महानगरपालिकाका जनप्रतिनिधिहरुले पुर्वाधार तथा सामाजिक विकास र सम्पदा संरक्षणका विषयमा धेरै कामहरु गरेका छन् । जनप्रतिनिधिको रुपमा काम गरेको ३ वर्ष पुरा भईसकेकाले आफुले यो कार्यकालमा धेरै कुरा सिकेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बताइन् । नागरिकले खोजेका विकासका कामहरु पुरा गर्दै काठमाडौंलाई नयाँ ढंगमा अगाडि बढाउन आवश्यक रहेको उनको भनाई थियो ।

महानगरपालिकामा जनप्रतिनिधिको आगमन भएपश्चात धेरै परिर्वतन आएको छ । महानगरपालिकाको ३२ वडामध्ये १० वटा वडामा महिला समिति पनि गठन गरिएको छ भने अन्य वडाहरुमा पनि समिति गठन गर्ने प्रक्रियामा रहेको छ । महानगरले महलिा विकासका लागि विभिन्न प्रयासहरु गरेता पनि सोचेअनुरुप काम गर्न नसकेको महानगरका वडा सदस्यहरुले बताएका छन् । महानगरपालिकाले संघसंस्थाहरुसंग सहकार्य गरी महिलाहरुलाई वडामार्फत् विभिन्न किसिमका तालिमहरु पनि प्रदान गर्दै आईरहेको छ । तर, ति तालिमहरु प्रभावकारी हुन नसकेको वडा सदस्यहरु बताउनुहुन्छ । तालिम प्रदान गरिसकेपछि त्यसलाई औद्योगिकरणमा परिणत गर्न नसक्नु र तालिमबाट उत्पादन भएका सामाग्रीहरुको उचित रुपमा बजारीकण हुन नसक्नुले तालिमहरु प्रभावकारी नभएको महानगरपालिकाका महिला वडा सदस्यहरुले बताए । महानगरले महिलाहरुलाई विभिन्न किसिमका तालिमहरु निरन्तर रुपमा प्रदान गर्दै आएपनि महिलाहरुलाई स्वरोजगार बनाउने विषयमा भने फड्को मार्न नसकेको उनीहरुको भनाई रहेको छ ।

महानगरपाकिाका महिला सदस्यहरुले आफु निर्वाचित भएर आएपश्चात् सोचेअनुरुप काम गर्न भने नसकेको पनि बताएका छन् । काम गर्ने वातावरण नै नभएकाले उदेश्य अनुरुप काम गर्न नसकिएको उनीहरुको भनाई थियो । अझै पनि महिला सदस्यहरुको भुमिका के हो र महिला सदस्यहरुको जीम्मेवारीको क्षेत्र कुन–कुन हो भन्ने कुरा प्रस्ट रुपमा नखुलाईएकाले काम गर्न समस्या भएको उनीहरुको भनाइ थियो ।
स्थानीय तहमा वडा अध्यक्षसहित महिला सदस्य एक जना, दलित महिला सदस्य एक जना, दुई जना खुल्ला सदस्य गरी पाँच जनाको वडा समिति हुने कानुनी व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकारका बारेमा स्पष्टरुपमा उल्लेख गरेपनि निर्वाचित महिला जनप्रतिधिहरु भने व्यवहारिक रुपमा के गर्ने भन्ने विषयमा अझै पनि अन्योलमा रहेका देखिएका छन् ।

स्थानीय तहमा महिलाको उपस्थिति बढेकै कारण समाजमा महिलाको आत्मबल बढेको छ । महिलाका साना–साना समस्या पनि बाहिर आउन थालेका छन् । तर, ति समस्या समाधान गरिदिने महिला जनप्रतिनिधिनै आफ्नो भुमिकाको विषयमा अन्योलमा रेहका देखिन्छन् । पुरुष जनप्रतिनिधिहरुले निर्णय प्रक्रियामा आफुलाई सामेल नगराईनुले दुई जनप्रतिनिधि विच सम्वन्वयात्मक भुमिका कमजोर भएको काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको भनाई रहेको छ ।

महिला जनप्रतिनिधि भएका नाताले महिलाहरुको समस्या समाधान गर्ने उद्देश्यले नै आफु चुनावमा उठेको र निर्वाचित भईसकेपछि पनि महिलाहरुलाई हरेक क्षेत्रमा प्रोत्साहन गरी अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले आफु निरन्तर लागि पेरेको महिला सदस्यहरुले बताउनु भएको छ । काठमाडौं महानगरपालिकामा जनप्रतिनिधिको आगमन भएपश्चात् महिलाहरुमा धेरै परिवर्तन आएको उनीहरुको भनाई रहको छ ।
सरकारले कानुनी रुपमा महिलाहरुलाई अधिकार प्रदान गरेपनि व्यवहारिक रुपमा भने महिला र पुरुषबीचको भेदभाव र असमानता अझै पनि विद्यमान छ । त्यसकारण महिला जनप्रतिनिधिहरु स्वयंले आफ्नो क्षमता विकास गर्नुपर्ने कुरामा महिला सदस्यहरुले जोड दिएका छन् । त्यसका साथै महिलाहरुको समस्या महिला जनप्रतिनिधिहरुको माध्यमबाट नै समाधान हुनुपर्ने कुरामा पनि उनीहरुको जोड रहेको छ ।
निर्वाचनमा चुनिएर आएका महिला जनप्रतिनिधिहरुको भुमिका विकासका क्षेत्रमा मात्र नभई महिलाका विषयमा पनि उत्तिकै रहन्छ । महिलाहरुलाई स्वरोजगार बनाउने, उनीहरुको समस्यालाई समाधान गर्ने, हिंसामा परेकाहरुलाई न्याय दिलाउने काम महिला जनप्रतिनिधिले गर्दै आएका छन् । तर, यी सबै कार्यहरु परदर्शी हुनुपर्ने देखिएको छ । अझ काठमाडौं महानगरपालिकाले त महिलाहरुको विषयमा उदाहरणीय काम गरी अन्य नगरपालिकाहरुका लागि प्रेरणा बन्नु पर्दछ । काठमाडौंमा भन्दा अन्य नगरपालिकाहरुमा महिलाका समस्या अनेकौं छन् । त्यसका लागि काठमाडौं महानगरपालिकाका महिला जनप्रतिनिधिहरुले उदाहरणीय काम गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया