तीनदिनमा बाढीपहिरोबाट कालिकोटमा १० जनाको मृत्यु, ७ बेपत्ता
काठमाडौं । सोमवारदेखि कालिकोटमा परेको अविरल वर्षासंगै आएको बाढीपहिरोले ३ दिनमा १० जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । गएराति नरहरीनाथ गाउँपालिका–७ बागामा पहिरो जाँदा एकै परिवारका ७ जना र वडा नम्बर ४ माझगोठमा पतिपत्नीको मृत्यु भएको छ ।
बागामा पहिरो जाँदा ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा पुरिएर ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गंगेसहित उनकी पत्नी ६२ वर्षीया मैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, नातिहरू ७ वर्षीय राम बुढा, डेढ वर्षीय चरित्र बुढा र १८ वर्षीय विमला बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । घटनामा परी ४ जना घाइते भएका छन् ।
गएराति नै नरहरीनाथ–४ माझगोठमा पहिरोले घर भत्किँदा ६५ वर्षीय बाले बुढा र उनकी पत्नी ६२ वर्षीय मन बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सोमवार राति रास्कोट नगरपालिका–१ तुसारखोलामा आएको पहिरोले टेकबहादुर टमटाको घर बगाउँदा घरमा बस्न आएकी महावीर शाहीकी १४ वर्षीया छोरी बेलपुरा शाहीको मृत्यु भएको थियो ।
सोमवार राति रास्कोट नगरपालिका–१ घरमा सुतिरहेको अवस्था पहिरोले घर बगाउँदा घरमूली ५० वर्षीय जयबहादुर शाही, उनकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशी शाही, ८ वर्षीय छोरा नविन शाही र डम्बरबहादुर शाहीकी १५ वर्षीया छोरी अस्मिता शाही बेपत्ता भएकी छन् ।
बेपत्ताको खोजी कार्य जारी रहेको सूचना अधिकारी जोशीले जानकारी दिए । हिजो दिउँसो तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा आएको बाढीले बगाउँदा १ महिला बेपत्ता भएकी छन् । बाढीले बगाउँदा खाँडाचक्र–६ दाहाँकी ५० वर्षीया अविसरा शाही बेपत्ता भएकी हुन् । आइतवार नरहरीनाथ गाउँपालिका–८ का १६ वर्षीय पारस भण्डारा पहिरोमा परिएर बेपत्ता भएका छन् ।
उनको खोजी कार्य जारी रहेको छ । हालसम्म ४ वटा घर पूर्णरुपमा क्षति भएको बताउँदै जिल्ला प्रहरी कार्यालयले कति रकम क्षति भयो भन्नेभन्दा पनि उद्धारमै ध्यान दिइरहेको जनाएको छ ।
प्रतिक्रिया