मंगलबार, जेठ ८, २०८१

बैठक तथा भेला नगर्न स्थानीय प्रशासनको आग्रह

नेपालखोज २०७७ साउन २० गते ११:१३

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य सङ्घसंस्थाले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै प्रशासनले यस्तो निर्देशन दिएको हो ।

बैठक सञ्चालन गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च हुने भएकाले त्यस्ता प्रकारको कुनै पनि गतिविधि नगर्न/नगराउन प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनको निर्देशन अवज्ञा गरी यस्ता कार्यलाई सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने जनाएको छ । सूचनामा जिल्लाका सातवटै स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ, गैरसरकारी संस्था महासङ्घ चितवन र जिल्ला सहकारी सङ्घलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह पनि गरिएको छ ।

७ सय ७३ जनालाई कारवाही

जिल्लाका विभिन्न स्थानमा सरकारले गरेको कोरोना नियन्त्रण अभियानमा असहयोग गर्ने ७ सय ७३ जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आइतबार र सोमबार गरी उनीहरुलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो ।

जिल्लाका विभिन्न स्थानमा न्यूनतम सामाजिक भौतिक दूरी कायम नगरी सवारी साधन सञ्चालन गर्ने, सार्वजनिक कार्यमा सामाजिक भौतिक दूरी कायम नगर्ने र मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा हिँडडुल गरेका उनीहरुलाई कारवाही गरिएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए । कारवाहीबाट ८३ हजार ५ सय रूपैयाँ सङ्कलन भएको थापाले जानकारी दिए ।

प्रतिक्रिया