शुक्रबार, जेठ ११, २०८१

स्तनपानको अर्थ, महत्व र प्रक्रिया

नेपालखोज २०७७ साउन २२ गते १४:३१

यतिबेला विश्वका नागरिकहरु ‘स्तनपान सप्ताह’ मनाई रहेका छन् । हरेकवर्ष झैँ यसवर्ष पनि अगस्ट महिनाको पहिलो साता स्तनपान सप्ताहको उपलक्ष्यमा विभिन्न कार्यक्रम सञ्चालन भईरहेका छन् । यसै सन्दर्भमा नेपालमा पनि आमा र बच्चाको स्वास्थ्य प्रर्वद्घनका लागि स्तनपानको अपरिहार्य महत्व छ भनीे बुझाउन राष्ट्रिय रुपमा नै जनचेतनामूलक कार्यक्रमहरु भईरहेका छन् । प्रकृतिले प्रत्येक आमालाई सन्तान जन्माउने अनुभुतीसँगै स्तनपान गराउने सुखद अवसर पनि प्रदान गरेको छ । नवजात शिशुलाई जन्म दिएलगत्तै आमाले आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने प्रक्रियालाई नै स्तनपान भनिन्छ । स्तनपानको परिचय र यसको महत्व दर्शाउने उद्देश्यले यस सङ्क्षिप्त लेख तयार पारिएको छ ।
कुनैपनि शिशुको समग्र वृद्घि र विकासमा स्तनपानको अत्यन्त महत्व छ । नवजात शिशुलाई जन्मनेवित्तिकै यथाशीघ्र (एक घण्टाभित्रै) आमाको दूध चुसाउनु पर्छ । आमाको पहिलो बाक्लो र पहेँलो बिगौती दूध नवजात शिशुका लागि अमृत सरह मानिन्छ । आमाको दूधमा प्रचुर मात्रामा भिटामिन ‘ए’ हुने र रोग प्रतिरोधात्मक तत्व हुने हुँदा बच्चालाई शक्ति प्रदान गर्नुका साथै श्वासप्रश्वाससम्बन्धी समस्या र झाडापखालाबाट बचाउँछ । बच्चालाई ६ महिनाको अवधिसम्म आमाको दूधमात्रले पनि आवश्यक सम्पूर्ण पोषण पुग्छ र अन्य कुनै खानेकुरा चाहिँदैन । त्यसैकारण पनि भनिन्छ, आमाको दूध नवजात शिशुका लागि अमृत समान छ । यस अलावा स्तनपानले आमा र बच्चाबीच ममताको सम्बन्ध स्थापना गर्ने काम पनि गर्छ । आमाको दूधले बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु त दिन्छ नै, शिशुको शारीरिक तथा मानसिक विकासका लागि चाहिने अच्यूत आहारको पनि काम गर्छ । स्तनपान शिशुको जन्मसिद्घ अधिकार पनि हो र आमाका लागि पनि स्तनपान गराउनुका धेरै फाईदाहरु छन् ।

आमाको दूध शिशुको लागि सबैभन्दा पोषिलो र उत्तम आहार हो । स्तनपान गराउनाले शिशलाई त फाईदा हुन्छ नै, आमाको स्वास्थ्यमासमेत अत्यन्त महत्वपूर्ण प्रभाव पार्दछ । सुत्केरीको पाठेघरबाट समयमै सालनाल बाहिर निस्कन पनि स्तनपानले सहयोग गर्छ । साथै, स्तनपानले बच्चा जन्मिएपछि पाठेघरबाट हुने रक्तश्राव समेत कम गराउँछ । स्तनपानलाई परिवार नियोजनको एउटा माध्यमको रुपमा पनि लिइन्छ । बच्चा जन्मेको ६ महिनासम्म नियमित रुपमा स्तनपान मात्र गराउँदा तत्कालै गर्भ बस्नबाट पनि बचाउँछ । आमाले जति धेरै पटक शिशुलाई स्तनपान गराउँछिन् त्यतिनै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ । सुत्केरीको लगत्तै शरीरमा उच्च रहेको हर्मोनहरुमा एक्कासी कमी आई कतिपय आमाहरुमा मानसिक समस्या समेत देखिन सक्छ भने स्तनपानले त्यस्तो लक्षण कम गराउन मद्दत गर्दछ । कम्तीमा दुई वर्षसम्म नियमित रुपमा बच्चालाई स्तनपान गराउने आमाहरुमा स्तन क्यान्सर र पाठेघर क्यान्सरको खतरा समेत कम हुने गरेको कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भएका छन् ।

स्तनपानका सम्बन्धमा तीन ‘E’ को सुत्र एकदमै महत्वपूर्ण मानिन्छ । पहिलो ‘E’ अथवा “Early initiation of breast feeding” भन्नाले जन्मेको १ घण्टाभित्र स्तनपान गराउने, दोस्रो ‘E’ अथवा “Exclusive breast feeding” को अर्थ पूर्ण स्तनपान वा बच्चालाई ६ महिनासम्म आमाको दूधमात्र खुवाउने र तेस्रो ‘E’ अथवा “Extended breast feeding” भन्नाले बच्चा जन्मेको करिब २ वर्षसम्म थप आहारका साथै स्तनपान पनि निरन्तर गराइराख्ने भन्ने बुझिन्छ । यसरी स्तनपानसम्बन्धी माथि उल्लेखित ३ वटा सूत्रहरुको पालना गर्न सकिएमा आमाको र बच्चाको स्वास्थ्यमा उल्लेखनीय सुधार आउने अध्ययनहरुले देखाएको छ ।

स्तनपानका असीमित महत्वहरु भए तापनि, विश्व स्वास्थ्य संगठनका अनुसार ४० प्रतिशत शिशुलाई मात्र ६ महिनासम्म पूर्ण स्तनपान अथवा आमाको दूधमात्र खुवाईएको पाइएको छ । नेपाल जनसाङख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या ६६ प्रतिशतमात्र र शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ मात्र प्रतिशत रहेको छ । त्यसैगरी, शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ८९ प्रतिशत रहेको छ । नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन सकेमा प्रत्येक वर्ष ८ लाख २३ हजार बच्चाको जीवन जोगाउन सकिने विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाएको छ ।

स्तनपानले शिशुको लागि स्वास्थ्य रक्षकको काम गर्दछ । नवजात शिशुले आमाको दूधबाट नै रोगसँग लड्न सक्ने शक्ति प्राप्त गर्दछन् । आमाको दूधले नै बच्चालाई स्वस्थ्य र तन्दुरुस्त पार्ने गर्दछ । आमाको दूधमा शिशुलाई पुग्ने पानीको मात्रा र सबै पौष्टिक आहार पाइन्छ । आमाले शिशुको मागअनुसार कम्तिमा एकदिनमा १० देखि १२ पटक स्तनपान गराउनुपर्छ । दिउँसो कम्तिमा ७ देखि ८ पटक र रातीमा ३ देखि ४ पटक स्तनपान गराउनु पर्दछ । स्तनपान गराउँदा सही आसनको जरुरी हुनुका साथै आमा र बच्चाबीच ममतामयी आर्कषण हुनु आवश्यक छ । बच्चाले आफै नछोडिउँजेलसम्म आमाले सजिलोसँग बसेर स्तनपान गराउन आमाले आरामदायी आसनमा बस्नुपर्छ । आमा र बच्चाबीच मायाको सम्बन्ध राख्न स्तनपान गराउँदा बच्चाको चिउँडोले आमाको स्तन छोएको हुनु पर्दछ र स्तनको मुन्टा वरीपरीको धेरैजसो कालो भाग शिशुको मुखभित्र हुनु पर्दछ । शिशुको मुख पुरा खुलेको र तल्लो ओँठ बाहिर फर्केको हुनु पर्दछ ।

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरु :

  • स्तनपान गराउने आमाले सफा र खुकुलो लुगा लगाउनु पर्दछ ।
  • स्तनपान गराउने आमाले झोलसहित थप पोसिलो खाना खानु पर्दछ, जस्तै: ज्वानोको रस, माछामासु, गेडागुडी, दूध, दालको रस, सिस्नु, र अन्य झोलिलो खानेकुराहरु बढी मात्रामा खानु पर्दछ ।
  • स्तनपान गराउनुअघि साबुनपानीले राम्ररी हात धुनु पर्दछ । सफापानीले स्तन सफा गनु पर्दछ ।
  • स्तनपान गराउँदा आमाले आफ्नो स्तनलाई अंग्रेजी अक्षरको सी (C) आकारमा समात्नु पर्दछ र बुढीऔंला स्तनको मुन्टो वरिपरिको कालो भाग माथि हुनु पर्दछ र अरु औँला स्तनको तलपट्टि हुनुपर्छ ।
  • स्तनपान गराउँदा आमा आफू आरामसँग बस्नुपर्छ ।
  • शिशुलाई काखमा लिने र शिशुको टाउको अलिकति ढल्काई आफूतिर फर्काएर दूध चुसाउनु पर्दछ ।
  • स्तनपान गराउँदा एकापट्टिको दूध पूर्ण रुपमा खाली हुनेगरी खुवाउनु पर्दछ । त्यसपछि मात्र अर्कोपट्टिको स्तनपान गराउनु पर्दछ । शिशुले जति दूध चुस्छ त्यति नै बढी मात्रामा दूध रसाउँछ ।
  • दूध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठ्युँमा मुसारी डकार्न लगाउनुपर्छ, यसो गर्नाले स्तनपान गर्ने बित्तिकै शिशुले वान्ता गर्दैन ।
  • सुत्केरी भएको ४५ दिनभित्र भिटामिन ‘ए’ क्यापसुल ‘एक मात्रा’ खानुपर्दछ । यो क्यासुल नजिकैको स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । त्यसैगरी सुत्केरी भएको ‘छ’ हप्तासम्म आइरन चक्की सेवन गर्नु पर्दछ ।
  • परिवारका अन्य सदस्यहरुलगायत स्तनपान गराउने आमाले दुई बालबालिका चिन्ह भएको आयोडिनयुक्त नुन राखेर बनाइएको खाना खानु पर्दछ ।
  • दूध नआउने, बच्चाले दूध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयमसेविकालाई तुरुन्त सम्पर्क गर्नुपर्दछ ।

अहिले कोरोना भाइरसको महामारीमा स्तनपान गराउने आमालाई कोरोना भाइरस संक्रमण भएको शंका लागेमा आफ्नो सन्तानलाई स्तनपान गराउने कि नगराउने भन्ने द्विविधा हुन सक्छ । यसका लागि विश्व स्वास्थ्य संगठन र युनिसेफ दुबैले नियमित स्तनपान गराउन सल्लाह दिएका छन् । तर संक्रमण सर्नबाट निम्न सावधानीका उपायहरु भने अपनाउनु जरुरी छ ।

  • शिशुको सम्पर्कमा आउनु अधि र पछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ ।
  • स्तनपान गराउँदा, शिशुको हेरचाह गर्दा वा नजिक पर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गनु पर्दछ ।
  • खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी रुमालले नाक र मुख छोप्नुपर्दछ र प्रयोग पश्चात् तत्कालै त्यसलाई पोकोपारी फोहोरदानीमा फाल्नु पर्दछ ।
  • आफूले छोएका वस्तु तथा सतह (स्थान) समय समयमा सफा गनुपर्दछ ।

स्तनपानले गर्दा आमा र बच्चाको आत्मीयता प्रगाढ हुन्छ । आर्थिक र स्वास्थ्यको हिसाबले हेर्दा पनि आमाको दूध ‘पाउडर दूध’ वा ‘फर्मुला मिल्क’भन्दा सस्तो र राम्रो हुन्छ । स्तनपानसम्बन्धी हाम्रो समाजमा विद्यमान कुरुतीहरुलाई हटाएर महिलाहरुलाई स्तनपान गराउन सहज वातावरण निमार्ण गर्न सम्बन्धित निकायले ध्यान दिनु आवश्यक देखिन्छ ।

लेखिका नेपाल स्वास्थ्य विज्ञान अध्ययन संस्थान (स्तुपा कलेज) जोरपाटीमा जनस्वास्थ्य विषय अध्ययनरत छिन्

प्रतिक्रिया