शुक्रबार, वैशाख ७, २०८१

जनताको बिचमा कांग्रेस कमजोर छैन – नेता रिजाल (भिडियाेसहित)

नेपालखोज २०७७ साउन २६ गते १३:००

कोरोनाले देश आतंकित भइरहेको बेला दुई तिहाइले बनेको सरकारले राहत दिन सकेन जनताले खोजेको कुरा दिन सकेन भन्ने आरोप आइरहेको बेला तपाईले के अनुभूती गरिरहनु भएको छ ?
राहत दिन सकेन मात्र होइन । यति ठूलो संख्यामा संक्रमण हुने सम्भावना पनि थिएन । डब्लुएचओले मध्य अप्रिलमा नेपालमा १५ सय देखि १० हजार जना कोरोना संक्रमित हुन्छन् भनेर प्रतिवेदन निकाल्यो, लकडाउन गरेपछि सरकारले तयारी गर्छ भन्ने अनुमान गरेर । लकडाउन भनेको आफैंमा समस्याको समधान होइन । परीक्षण पनि समधान होइन । तीन महिना लकडाउनमा सरकारले कोरोना विरुद्द लड्न परीक्षण दायरा बढाउने, आएसोलेसन वार्ड बनाउने, संक्रमितका सम्पर्कमा आएका व्यतिmहरुको व्यवस्थापनको तयारी गर्नुपर्नेमा सरकार लकडाउन गरेर राजनीति गर्न व्यस्त भयो । पार्टीमा कसलाई पेल्ने, देशमा कसलाई पेल्ने यस्तैयस्तै कुरामा सरकार लागेपछि यो बाहेक अरु कुनै हालत हुनै सक्दैन ।

जनतालाई सुरक्षित गर्न औषधी आयातको लफडा त देखियो नि ?
औषधि आयातमा मात्र होइन सरकार घुस खान पनि लाग्यो । घुुुसको कुरा बाहिरियो र सामान फिर्ता गर्नुपर्याे । कुुरा बाहिर आएपछि सरकारले फेरी सेनालाई सिखन्डी बनाएर सामान किन्न लाग्यो । उही बदमासी उही भष्ट्रचारी अगाडि सेना देखाएर अब सेनाले खरिद गर्छ है भन्यो । तर, पुरानै ठाउँ जहाँ सरकारले उपकरण किनेको थियो त्यहीँबाट सेनाले उपकरण खरिद गर्याे । यसरी सरकारको कमाउने र राजनीतिमा अरुलाई पेल्ने धन्दा बलियो बन्न लाग्यो । कुनै पार्टीमा नलागेका १८–२० वर्षका युवा अब त अति भयो, हाम्रो ज्यान जोगाऊ, अर्थतन्त्र बचाऊ भन्दै सडकमा निस्किए । हाम्रो रोजगार नगुमाइदेउ भन्दा पनि उनीहरुको कुरा सुनेनन् । युवाले सत्याग्रहको बाटो रोज्नुपर्याे हिजो भर्खर सम्झौता त भयो तर, लागु हुन्छ हुँदैन थाहा छैन । सरकारले कोरोनासँग लड्न समयको उपयोग गर्ने र मानिसको आवतजावतलाई नियन्त्रण गर्ने । अर्थतन्त्रमा केही संकुचन आएपनि मानिसको स्वास्थ्यमा कुनै असर नपरोस, जनताले ठूलो दुख खेप्नु नपरोस भनेर गर्नुपर्ने प्रयत्न सरकारले गरेन त्यसको परिणाम आज हामीले भोग्नु परिरहेको छ ।

प्रतिपक्ष दल नेपाली कांग्रेस आन्तरिक कलहमा भएका कारण अहिले सरकारलाई फाइदा भयो भष्ट्राचारदेखि विभिन्न नकारात्मक काम गर्न सरकारलाई सहज भयो भन्ने आरोप पनि छ नि ?
त्यो होइन प्रतिपक्ष दल संसद, प्रदेशसभा र स्थानीय तहमा कमजोर छ । तर, जनताको बिचमा कमजोर छैन । नेकपाले चुनाव जितेको ठाउँमा सरकार बलियो छ । हिजो चुनावको बेला ८–९ प्रतिशतको फरक थियो दुई पार्टीको बिचमा । तर, उपनिर्वाचनलाई हेर्दा ३ प्रतिशतको फरक छ दुई पार्टीमा । जुन अहिले सरकारले काम नगर्दा जनतामा निराशा र आक्रोषको स्थिति आएको छ, यो अवस्थामा कांग्रेस कमजोर छैन ।

संसदमा हेर्ने हो भने मिनेन्द्र रिजाल बाहेक अरु सरकारको विरुद्धमा बोलेको देखिएन नि ?
म मात्र होइन अरु साथीहरु पनि बोल्नुभएको छ । तपाईले मलाई मात्र प्रभावकारी देख्नु भएको छ भने तपाईलाई धन्यवाद । म मात्र बोलेको भन्ने भ्रम राखेको भए त्यो गलत हुन्छ । उहाँहरुको मेहेनतको लागि मैले श्रय दिनुपर्छ । मूल नेतृत्व संसदमा जति क्रियाशील हुनुपर्ने हो त्यो भएन भन्ने जनमानसमा गुनासो चाहिँ छ ।

सरकारले काम नगरिरहेको अवस्थामा कांग्रेस मौन बस्दा मौन स्वकृती दिएको भनेर जनतामा निराशा छ नी ।
मौन स्वकृती हैन हामीले यो समयमा के गर्ने ? अहिलेको अवस्थामा आन्दोलन गर्ने कुरो आएन । भेटघाट गर्न मात्र नै मुस्किल छ । अहिले झन् हामी संक्रमणको उच्च जोखिममा छौं । यो अवस्थामा लोकतान्त्रिक पद्दतीबाट विरोध गर्ने हो, जुन हामीले गरिरहेका छौं । मूल नेतृत्व नबोल्दा अलिकति असर परेको जस्तो छ । जनतालाई पनि कांग्रेस छ, हाम्रो शेरबहादुर हुनुहुन्छ जस्तो महशुस हुन्थ्यो ।

त्यसो भए यो अवस्थामा मूलुक कुन बाटोतिर अघि बढ्छ त ?
अव केही समय अरु कुरामा ध्यान नदिई हामी तीन कुरामा केन्द्रित रहन्छौं । एउटा कोरोनाको संक्रमणबाट जोगिने, जोगाउने र जे सुविधा छ, अस्पतालको त्यो सुविधा प्रयोगमा ल्याउने । विदेशबाट आएकाहरुलाई सुरक्षित तरिकाले गाउँ घर पठाउन हामी सुरुमा लागि पर्नुपर्र्छ । दोस्रो, दैनिकी गरेर घर चलाउने नै यति बेला कोरोनाको मारमा छन् । सिथिल रहेको अर्थतन्त्र झन् संकुचन भएको अवस्था छ । यसलाई कसरी जोगाउने हामी केन्द्रित छौं । तेस्रो, हाम्रा जतिपनि अतिक्रमित भूमीहरु छन्, ती भूमीहरु वौद्धिक कदमबाट फिर्ता ल्याउनतर्फ लाग्नेछौं । प्रधानमन्त्रीले भूमी फिर्ता होस या नहोस तितो बोलेर नेपाल–भारतको सम्वन्धमा तीतोपन ल्याउन खोजीरहनु भएको छ । हामीले यसमा थप सजग र बुद्धि लगाएर काम गर्नुपर्ने अवस्था छ ।

लाखौं युवा विदेशमा अलपत्र परिरहेको अवस्थामा सरकारले जुन सम्वोधन गर्नुपर्ने कुरा हो त्यो गरिरहेको अवस्था छैन । सरकार राष्ट्रवादी बन्न अहिले लिम्पियाधुरादेखि राम जन्म स्थलसम्मको कुरा गरिरहेको छ यो उचित हो र ?
जुन देशका मानिस रोजगारीका लागि झन्डै ५० लाख बाहिरिएको स्थिती छ । ५० लाखमध्येमा ७–८ लाख मानिस फर्किसके या फर्कने क्रममा छन् । फर्केको मानिसलाई रोगमुक्त बनाएर घर फर्काउने र अहिलेको परिस्थितीअनुरुप काम गराउने बेलामा रामायणकालको कुरा गरिरहेको छ सरकार । ३ करोड नेपालीले भोगिरहेको समस्यालाई ध्यान नगरी रामायणकालको कुराले जनतालाई भुलाउन खोजिरहेको छ । सरकारको यस्तो कुराले हामीले झन् बढी निराशा र दुख झेल्नु नपरोस म यही कुरा सरकारलाई भन्न चाहान्छु । अर्थतन्त्र जोगाउनुपर्ने बेला सरकारलाई रामायण युगको कुरा नगर्न अनुरोध गर्दछु ।

प्रतिक्रिया