आज भारतमा ७४ औं स्वतन्त्रता दिवस मनाइयो
काठमाडौं । आज भारतको ७४औं स्वतन्त्रता दिवस । भारतीय जनताका लागि विशेष दिन । भारतमा हरेक वर्ष अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाइन्छ । सन् १९४७ अगस्ट १५ तारिखमा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो । यसै ऐतिहासिक दिनको सम्झना गरी भारतरभर उत्साहका साथ अगस्त १५ मा भारतीय स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
स्वतन्त्रता दिवसका अवसरमा आज बिहान सवा ७ बजे प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लालकिल्लामा भारतीय स्वतन्त्रता दिवसको समारोहलाई सम्वोधन गरेका थिए । इन्डिया गेटमा उनी पुग्दा भारतका रक्षामन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । लालकिल्लामा आयोजित एक विशेष समारोहमा भारतीय उच्च अधिकारीहरुले उनलाई स्वागत गरेका थिए ।
त्यसैक्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतको झण्डाको झण्डोत्तोलन गरेका थिए । भारतीय सेनाले प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनर प्रदान गरेको थियो भनेसेनाले सम्मानस्वरुप गार्ड अफ अनर दिएको थियो । त्यस क्रममा भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रस्तुत गरिने सम्मान स्वरुपका विविध कार्यक्रमहरु प्रधानमन्त्री मोदीले हेरेका थिए ।
भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो ।
सोही मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् । यस अवसरमा भारतको लालकिल्लामा विशेष समारोहको आयोजना गर्ने गरिन्छ । यस अवसरमा प्रधानमन्त्री मोदीले गरेको सम्बोधनमा भारतले छिमेकी मुलुकहरुसँग सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध राम्रो बनाएको बताएका थिए ।
स्वतन्त्रता दिवसका अवसरमा आज दिल्लीको लालकिल्लामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दक्षिण एसियाली मुलुकका नेताहरुले यस क्षेत्रको विकासमा मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रधानमन्त्री मोदीले यस क्षेत्रमा शान्ति आएसँगै मानवताको हितमा कामहरु हुने पनि बताए । उनले केही समयदेखि भारतले पश्चिम एशियासँगको सम्बन्धलाई अझ बलियो बनाएको र ती देशसँग भएका ऊर्जा क्षेत्रको साझेदारी महत्वपूर्ण रहेको बताएका थिए ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारती समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेका छन् । ओलीले आज बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको कामना गरेका छन् ।
स्वतन्त्र भारतका लागि सुवासचन्द्रबोस महात्मा गान्धीलगायतका नेताले अहिंसात्मक प्रदर्शन र नागरिक अवज्ञाको माध्यमबाट स्वतन्त्रता संग्राम गरेपछि भारत स्वतन्त्र भएको हो । भारतलाई स्वतन्त्र बनाउन बनेको विधान इण्डियन इण्डिपेण्डेन्स एक्ट सन १९४७ बेलायती संसद्ले पारित गरेर इण्डियन कस्न्टिच्युशनल एसेम्लीलाई भारतकोे संसदीय सम्प्रभुता प्रदान गरिएको थियो । भारतले संक्रमण काल पार गरेर संविधान जारी नगर्दासम्म बेलायती राजा जर्ज छैठौं नै भारतका राष्ट्रप्रमुख थिए । संविधानसभामार्फत बनेको भारतीय संविधान सन् १९५० मा जारी भएपछि भारतले पूर्ण स्वतन्त्रता प्राप्त गरेको हो । स्वतन्त्रतापछि भारतीय नागरिक राजेन्द्रप्रसाद गणतन्त्र भारतका प्रथम राष्ट्रपति र जवहारलाल नेहरु प्रथम प्रधानमन्त्री भएका थिए ।
प्राचीन भारतवर्षमा पर्ने दुई देश नेपाल र भारतबीच युगौंदेखि जनस्तरमा नजिकको नाता छ । नेपालको जनकपुरमा जन्मेकी जनकपुत्री सीताले भारतीय समाजमा नारीधर्म र शालीनताको आदर्श सिकाइन् । नेपालको लुम्बिनीमा जन्मेका भगवान गौतम बुद्धले गयामा साधना गरेर ज्ञान प्राप्त गरेका हुन् । बुद्धको शिक्षा खोज्दै नेपाल आएका मगध सम्राट अशोकले स्थापना गरेको शिलास्तम्भले लुम्बिनी बौद्धजन्मस्थल प्रमाणित गरेको छ । ढुंगाको अक्षरले भनिरहेको छ हिद बुधे जो अर्थात यहाँ बुद्ध जन्मेका हुन् । भारतको पुरीमा नेपाली शालग्राम पूजित छन् । गोरखपुरमा नेपालका गोरक्षनाथको पूजा गर्ने परम्परा छ । गोरखनाथका गुरु मत्स्येन्द्रनाथ कामख्याबाट नेपाल आउँदा गरिएको स्वागत आज मच्छेन्द्रनाथको जात्राका रुपमा प्रचलित छ । यताका जनताको धार्मिक धाम उता छ । उताका नागरिकका तीर्थ तपोभूमि यता छ । सीमापार आवतजावत भइरहन्छ ।
आजन्म स्वतन्त्र राष्ट्र नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति र मित्रतासम्बन्धी सन्धिपछि दुई मुलुकबीच औपचारिक सम्बन्ध स्थापना भएको मानिन्छ । यो सन्धिपछि द्विपक्षीय सहयोग आदानप्रदान हुँदै आएको छ । नेपाल भएर भारततर्फ बग्ने नदी प्रणालीको विकासमा दुई देशबीच महत्वपूर्ण सहयोग गर्ने सन्धि भएको छ । नेपालको सडक,पुल,भवनलगायतका पूर्वाधार विकासमा केही सहयोग गरेको छ । दुई देशका जनशक्ति अर्काको भूमिमा रहेर काम गरेका छन् । नेपाली जनशक्तिले भारतीय भूमिरक्षामा अहम् भूमिका खेलेको छ । यस्तो विशिष्ट सम्बन्ध भएका छिमेकी विश्वमा पाउन दुर्लभै छ ।
नेपाल र भारतीचको सम्बन्धमा कहिलेकाँही तिक्तता नआएको होइन । कहिले प्राकृति सम्पदा सदुपयोगका समस्या, कहिले व्यापारमा देखिएका व्यवधान,कहिले पारवहनका प्रश्न त, कहिले एकतर्फी नाकाबन्दीका दुःख, जे जे आइपरे ती सबै समस्याको शान्तिपूर्ण समाधान गरिएको इतिहास छ ।
वर्तमान अवस्थामा पनि सीमाका सवाल उठेका छन् । भूमि अतिक्रमणका मुद्दा बाँकी नै छन् । तर पनि यी सबै समस्याका समाधान आपसी वार्ताबाटै सम्भव छ भन्नेमा दुवै देश विश्वस्त छन् । छिमेकी देशबीच बेलाबेलामा समस्या आइपर्छन् तर यी सवाललाई गम्भीरतापूर्वक वार्ता र प्रमाणका आधारमा किनारा लाउन सकिन्छ भन्नेमा दुवै देशका विद्वतवर्ग र नेतृत्व आश्वस्त छन् ।
प्रतिक्रिया