मंगलबार, जेठ ८, २०८१

मकवानपुरमा पुनः निषेधाज्ञा जारी

नेपालखोज २०७७ साउन ३२ गते १३:०२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटाैंडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्ञा पुनः जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले यसअघि साउन २६ गते राति १२ बजेदेखि आज राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको भए पनि जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले पुनः निषेधाज्ञा जारी गर्न बाध्यता भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रजिअ दीपकराज नेपालले बताए ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बिहान बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । बैठकले निषेधाज्ञा जारी गरिएअनुसार बाहेक जिल्लामा दैनिक सभा, सम्मेलन, गोष्ठी, धार्मिक पर्वलगायत अन्य भिडभाड हुने कार्यक्रम नगर्नसमेत आदेश जारी गर्दै विज्ञप्ती निकालेकाे हाे ।

सो बैठकले मकवानपुरको मनहरि गाउँपालिका क्षेत्र पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत हेटौंडा उपमहानगरपालिका क्षेत्रका १ देखि १९ वटै वडासम्ममा सोही मितिसम्म निषेधाज्ञा जारी गरिएको आदेशलाई उल्लङ्घन गरेको पाएमा कानूनी कारवाही अघि बढाइने साे सूचनामा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया