बुधबार, वैशाख १२, २०८१

खै कहाँ पाउँछु मैले न्याय ?

नेपालखोज २०७७ भदौ २ गते १४:४१

‘न्याय नपाए, गोरखा जानू’ भन्थे, तर म गोर्खे मट्याङग्रेले लामो समय भैसक्यो, छोरा मार्नेलाई कार्वाही गर । न्याय देउ भन्दा भन्दै सास नै फेर्न विर्षिएर शिक्षण अस्पतालको मुर्दाघरमा बसिरहँदा पनि न्याय पाईन ।

अव त मेरी बुढी पनि सास फेर्न विर्षिएर मलाई नै भेट्न आउने बेला भईसक्यो र पनि न्याय पाएको छैन । ‘न्याय मरेको ठाउँ’मा न्याय खोज्दै भोकै बस्नु म पनि त मुर्ख नै हुँ नि । हरियो पत्ता खाएर दानव अधिकारको ढोङ फुक्नेहरुले त वास्ता गरेनन् भने पैसाका भरमा चुनाव जितेर मट्याङग्रेको लागि न्याय दिन्छन् भन्नु कुुकुरलाई हड्डी पैचो दिए जस्तै त हो नि होइन र ?

फुजेलको म ‘मट्याङग्रे’ को त कुरा नै छाडिदिउँ न उता पश्चिमतिरकी निरुको हालत पनि त उस्तै छ । उसका बाउ आमा पनि म जस्तै न्याय खोज्दै हिडेको बर्षौ भयो तर खै ? कता हरायो हरायो भेटिँदै भेटिएको छैन ।

अस्तिँन कतातिर हो, भेटिसक्याँ थ्यो रे ! पैसाको बाढीले फेरि बगाएछ । नदी तार्ने माझीले प्रयास गर्दिएको भए त, बगाउँदा बगाउँदै भेट्थ्यो होला । तर, उ पनि हनुमानको शक्तिमा लिप्सिएछ । सायद, उनीहरु पनि केही समय पछि मलाई साथ दिन यही मुर्दा घरतिर नै न्याय खोज्न आउँछन् कि भन्ने आशा छ । मेरो साथीहरु विस्तारै बढ्दै छन्, न्याय नपाउने मुर्दा घरमा ।

अहिले कथा फेरिएको छ । पञ्चभलाद्मीहरु पनि अगाडिको चौतारोमा बसेर विक्न थालेका छन् । कोही जुवाको खालमा । कोही समुद्रपारीको तीर्थका कारण । भगवान् नै बेच्ने र बेचिने यस्तो ठाउँमा अन्याय प¥यो भनेर भन्ने ठाउँ समेत छैन । रातोदिन नभनी कर्म गर्दा समेत कर्मको फल नपाउँने गाउँ । ‘खाए खा नखाएँ घिच’ भने जस्तै छ । न्यायलाई अन्यायले थिचिरहेको छ । सात कक्षा फेल भएर गाउँ हाँक्नेले पनि पश्चिमा संस्कृतिमा विद्यावारिधी गरेर पञ्च भलाद्मीको ठेकेदार बन्दा पवित्र मदिरासँगै विद्यावारिधिको अर्थले हावा खाईसक्यो । त्यही पापले सिमा नाघेर होला कोऽ रोना सल्किएको । भन्न त मट्याङग्रेलाई हजुरबाले भन्थे कलियुगमा धेरै पाप हुन्छ पापले सिमा नाघेपछि मान्छे मान्छेदेखि डराएर भाग्नु पर्दछ । त्यसैले अचेल म पनि मान्छे देखेर भागि हिडेको छु । हजुरबाको अनुहारै नदेखे पनि हजुरबाले मट्याङग्रेलाई दिएको दिव्योपदेश ठ्याक्कै मिलेको छ ।

कलियुगमा मान्छे द्रव्य पिचास हुन्छ, मान्छेले मान्छे खान्छ, अन्यायको हावी हुन्छ , पापीहरुले राज गर्ने छन् भन्थे, हो रच । त्यसैले त मैले न्याउ पाउन सकिन । सिंहदरबार अगाडि ठिङ उभिएका गोर्खाका नाईकेलाई देखाउँदै न्याय नपाए गोर्खा जानु त्यसै भनेको त होइन रैछ । त्यही नाईके उभिएको नजिकै रहेको पञ्च भलाद्मीहरुको चौतारोमा पनि गाउँलेहरु साक्षी राखेर न्याय किनवेच हुन थाल्यो ।

न्याय किनबेच नहोस् पनि किन ? पञ्च भलाद्मी बन्नका लागि नै सुटकेस हो कि व्रिफकेस के बुझाएर ‘ म तपाईले भनेको सवै कुरा स्वीकार गर्छु र मेरो पञ्च भलाद्मीको जागिर छँदासम्म तपाईकै निर्देशन अनुसार मात्र गाउँहरुको छिनोफानो गर्छु’ भन्ने शपथ खान्छन् । अनि म र निरुका बाउ जस्ताले कसरी पाउँछ न्याय !

लौ भन्नुस् त ? म मुर्दाघरमा बसेको यत्तिका वर्ष भईसक्यो । म जस्तै गरी न्याय खोज्न मुर्दाघरमा अरु पनि आउने बेला भईसक्यो । तर, मैले न्याय पाउन सकिन । देखिने कालोकोट, त्यसपछिको हरियो रुख मुनि बस्नेहरुले, मलाई न्याय दिन्छन् भनेर कहिलेसम्म मुर्दा घरमा प्लाष्टिक भित्र कोचिएर बसिरहनु पर्ने हो थाहा छैन !

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सव आयो । तर म जस्ता मट्याङग्रेहरुका लागि होइन । मेरो जिम्मेवारी लिने ठेकेदारहरुलाई । सव आयो, सव भ्यायो, सवैलाई दास बनायो, अन्याय अत्याचार र भ्रष्टाचार मौलायो । मेरो गाउँमा न्याय हरायो ए हजुरबा म मट्याङग्रे अव न्याय खोज्न कुन गाउँमा जाऊँ ? मलाई कसले र कहिले दिन्छ न्याय !

प्रतिक्रिया