वैकल्पिक माध्यमबाट विश्वविद्यालयका परीक्षा दसैंअघि सञ्चालन गर्ने
काठमाडौं । विश्वविद्यालयहरूले रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट भएपनि दसैंअघि नै सञ्चालन गर्ने जनाएका छन् । उपकुलपतिहरूले परम्परागतसहित अनलाइन र अन्य माध्यम प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने बताएका छन् ।
राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको भर्चुअल छलफलमा उपकुलपतिहरूले पठनपाठन र परीक्षालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नसके शैक्षिक सत्र नै नाश हुने बताएका छन् ।
वैकल्पिक विधिलाई नै मूलधारको शिक्षा बनाउनुपर्ने उनीहरूको जोड थियो । कोरोना संक्रमण घट्दै गए अनलाइनसहित अन्य विधिबाट भएपनि परीक्षा सञ्चालन गरिने उनीहरूले जानकारी दिए । उपकुलपतिहरूकाअनुसार असोजभित्रै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गृहकार्य भइरहेको छ ।
सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयले चार मोडलबाट परीक्षा सञ्चालन गर्ने योजना अघि बढाएको उपकुलपति धर्मकान्त बाँस्कोटाले जनाए । अवस्थाअनुसार अनलाइन, आन्तरिक मूल्यांकन, ओपन बुक र परम्परागत विधिबाट परीक्षा सञ्चालन गरिने उनले जनाए । वैकल्पिक माध्यमबाटै पठनपाठन र परीक्षालगायत शैक्षिक गतिविधि अघि बढाउन विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सर्कुलर गरेको छ ।
प्रतिक्रिया