बुधबार, वैशाख १२, २०८१

रोजगार गुमाएका युवालाई सुलभ कर्जाको व्यवस्था

नेपालखोज २०७७ भदौ ९ गते १३:५८

राँझा । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन १ लाखदेखि १० लाखसम्मको बिना धितो कर्जाका लागि खजुरा गाउँपालिका जमानी बस्ने भएको छ ।

गाउँपालिकामा प्रत्येक वर्ष सय जना उद्यमी बनाउने लक्ष्यसहित चालु आर्थिक वर्षदेखि शुरु गर्न लागेको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार यस सम्बन्धी कार्यविधि तयार भइसकेको छ । कर्जा प्राप्त गर्न कुनै कठिनाइ हुन नदिन गाउँपालिका नै जमानी बसेर सहजीकरण गर्न लागेको हो । यो कार्यका लागि राष्ट्रिय वाणिज्य बैंक र गरिमा विकास बैंकसँग सम्झौताको प्रक्रिया शुरु भएको छ । “यो कार्यक्रमले स्वदेशमै केही गर्न चाहने युवालाई सानो ऋणका लागि महिनौ धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ”, अध्यक्ष कक्षपतिले भने, “खासगरी घरेलु तथा साना उद्योग र कृषि कर्म गर्न चाहने युवाहरु यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।”

औद्योगिक ग्रामको सूचीमा परेसँगै खजुरा गाउँपालिकामा निजी क्षेत्रको आकर्षणसमेत बढ्दै गएको छ । स्थानीय सीप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रिपरिषद बैठकले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेअनुसार, बाँकेमा खजुरा गाउँपालिका परेको अध्यक्ष कक्षपतिले बताए ।

गत आर्थिक वर्ष २०७६/७७ मा औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ९२ लाख प्राप्त गरेको थियो । बाँकेमै नमूना गाउँपालिकाका रुपमा स्थापित हुँदै गएको खजुरामा साना ठूला लगानीकर्ता आकर्षित गर्न स्थानीय तहले जस्तोसुकै सहयोग गर्ने नीति लिएको अध्यक्ष कक्षपतिको भनाइ छ ।

खजुरालाई भौतिक पूर्वाधार मात्रै नभई स्वास्थ्य र सामाजिक विकासको रुपमा पनि अघि बढाउने योजनाका साथ काम भइरहेको छ । गाउँपालिकावासीमा स्वास्थ्यको पहुँच बढाउन सबै वडामा स्वास्थ्य सेवा विस्तार भइसकेको गाउँपालिकाका अध्यक्ष अध्यक्ष कक्षपतिले बताउनुभयो । उनका अनुसार, गाउँपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र क्यान्सर अस्पताल समेत रहेकाले आधारभूत स्वास्थ्य सेवालाई जनमैत्री बनाउँदै लगिने छ ।  रासस

प्रतिक्रिया