मंगलबार, चैत ४, २०८१

रुसका विपक्षी नेता नाभाल्नीलाई विष खुवाइएको पुष्टि

नेपालखोज २०७७ भदौ ९ गते २०:५०

एजेन्सी । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको उपचार भैरहेको जर्मनीको बर्लिन स्थित अस्पतालले उनलाई विषाक्त पदार्थ खुवाइएको पुष्टि गरेको छ । बर्लिनको च्यारिते अस्पतालले जारी गरेको वक्तव्यमा उनलाई विषालु पदार्थ दिइएको देखिएको उल्लेख गरेको छ ।

Advertisement

यसअघि रुसमा उनको उपचारमा संलग्न चिकित्सकहरुले विषाक्त पदार्थ नदेखिएको जनाएका थिए । रुसको आन्तरिक उडानमा रहेका बेला गत बिहीबार बिरामी परे लगत्तै कोमामा गएका नाभाल्नीको सुरुमा रुसमै उपचार भएको थियो ।

तर ज्यानको जोखिम रहेको भन्दै थप उपचारका लागि जर्मनी लगिएको हो । नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्तापक्षले आफ्नो अपराध ढाकछोप गर्न खोजेको आरोप लगाउँदै आएका छन् । भ्रष्टाचार विरोधी अभियन्ता ४४ वर्षका नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिन्छन् ।

प्रतिक्रिया