कोरोना : नेपालमा निको हुने दर सार्क मुलुककै न्यून
काठमाडौं । सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६.६६ प्रतिशत छ । विज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा विश्लेषण गरेका छन् ।
निको हुने दर कम भएको र गम्भीर बिरामी थपिँदै गएकाले मृत्यु संख्या बढिरहेको छ । सार्क राष्ट्रमा श्रीलंकामा कोरोना निको हुने दर सबैभन्दा राम्रो ९४.८८ प्रतिशत देखिएको छ । छिमेकी भारत तेस्रो स्थान (७६.२१ प्रतिशत) मा छ ।
‘उपचार प्रक्रियामा कमजोरी र संक्रमितको पहिचानको कमीले गर्दा नेपालमा कोरोना निको हुने दर सबैभन्दा कम रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. जीडी ठाकुरले बताए । नेपालमा कोभिडको मृत्युदर ०.५० प्रतिशत छ ।
डा. ठाकुरले नेपालमा मृत्यु भएका धेरैको परीक्षण नभएकाले मृत्युदर अझै बढी हुन सक्ने बताउनु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अर्का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले समेत दिनहुँ २५ हजारभन्दा बढी कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया