रामेछाममा कुकुरले टोक्दा ८ जना घाइते
रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ मा कुकुरले टोक्दा ८ जना घाइते भएका छन् । आज बिहानै सानिमदौं, मन्थली बजार र आकाशे क्षेत्रमा हिँडडुल गर्नेलाई सडकका कुकुरले टोकेका हुन् ।
मन्थली–१ का वडा अध्यक्ष नारायणदास श्रेष्ठकाअनुसार कुकुरले टोकेर घाइते भएका ५ जनालाई उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौं पठाइएको छ । अरुलाई पठाउने तयारी भइरहेको श्रेष्ठले बताए ।
रेबिजविरुद्धको खोप रामेछापमा उपलबध नहुँदा घाइतेहरुलाई काठमाडौंको टेकु अस्पताल पठाउनुपर्ने बाध्यता छ । केही दिन अघिदेखि कुकुरले नगरपालिका क्षेत्रमा आतंक मच्चाउँदै आएका छन् । स्थानीय नविन कार्कीकाअनुसार सुनारपानीमा कुकुरले टोकेर ३ जना घाइते भएका र उनीहरुको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले कुकुरले टोकेर घाइते हुनेहरुको उपचार जिल्लामा नै गराउनका लागि आवश्यक खोप मगाइएको बताए । उनले जताततै निषेधाज्ञाको बेला काठमाडौं पुग्न र अस्पतालमा पुगेर उपचार गराउनका लागि सर्वसाधारणलाई असजिलो भएकाले औषधिका लागि पत्राचार गरिएको बताए ।
प्रतिक्रिया